कृष्णाष्टमी, रामनवमीजस्तै ‘मोहम्मद डे’मा सार्वजनिक बिदा दिनुपर्छः पूर्वन्यायधीश डा. सलाहुद्दीन सिद्धिकी
डा. सिद्दीकीले राज्यले कृष्णाष्टमी, रामनवमी, बुद्धजयन्ती तथा इसाई धर्मावलम्बीका महत्वपूर्ण अवसरमा सार्वजनिक बिदा दिएर धार्मिक पर्वलाई मान्यता दिँदै आएको उल्लेख गरेका छन् । तर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा नदिइनुका कारणबारे उनले प्रश्न उठाएका छन् ।

२०८३ भदौ ९ मंगलबार, बिहान ९:३४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ‘मोहम्मद डे’मा सार्वजनिक बिदा दिन माग गर्दै पूर्व न्यायधीश डा. सलाहुद्दीन अख्तर सिद्दीकीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
डा. सिद्दीकीले नेपाल धर्मनिरपेक्ष राज्य भइसकेकाले राज्यले सबै धर्म र धार्मिक समुदायलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । उनले हिन्दू, बौद्ध तथा इसाई धर्मका महत्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिइँदै आएको अवस्थामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद (सअव) को जन्मदिन ‘मोहम्मद डे’लाई सार्वजनिक बिदा दिएर राज्यले समान धार्मिक सम्मानको अनुभूति गराउनुपर्ने माग गरेका हुन् ।
उनले विश्वभर इस्लाम धर्मावलम्बीको ठूलो जनसंख्या रहेको र ५७ वटा मुस्लिम राष्ट्र रहेको उल्लेख गर्दै नेपाली नागरिकको वैदेशिक रोजगारी र नेपालको अर्थतन्त्रमा मुस्लिम मुलुकहरूको महत्वपूर्ण योगदान रहेको दाबी गरेका छन् ।
नेपालका मुस्लिम समुदायले वैदेशिक रोजगारीमार्फत देशको अर्थतन्त्रमा योगदान पुर्याइरहेको उल्लेख गर्दै डा. सिद्दीकीले नेपालमा मुस्लिम समुदायको ऐतिहासिक योगदानलाई समेत राज्यले स्मरण गर्नुपर्ने बताएका छन् ।
उनले नेपालको एकीकरणअघिदेखि नै देशको विकासमा मुस्लिम समुदायको योगदान रहेको उल्लेख गर्दै इतिहासलाई सम्मान गर्दै भविष्य निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
डा. सिद्दीकीले राज्यले कृष्णाष्टमी, रामनवमी, बुद्धजयन्ती तथा इसाई धर्मावलम्बीका महत्वपूर्ण अवसरमा सार्वजनिक बिदा दिएर धार्मिक पर्वलाई मान्यता दिँदै आएको उल्लेख गरेका छन् । तर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा नदिइनुका कारणबारे उनले प्रश्न उठाएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…