पुराना अपराध बिर्सिँदैन प्रहरी संगठन, जुनसुकै बेला अपराधी कानुनी दायरामा आउँछन्ः आईजीपी कार्की
पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएको भन्दै कार्कीले यस्ता अपराधको अनुसन्धानका लागि विशिष्टीकृत जनशक्ति आवश्यक रहेको बताए । त्यसअनुसार जनशक्ति भर्ना तथा परिचालनसँगै विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको उनले जानकारी दिए ।

२०८३ भदौ ७ आइतबार, राति ९:३३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दशकौँ पुराना आपराधिक घटनामा संलग्न अपराधीलाई समेत प्रहरीले नछाड्ने बताएका छन् ।
प्रहरी संगठनसँग अपराधका घटनाको संस्थागत स्मृति रहने भन्दै उनले प्रमाण र अनुसन्धानका आधारमा जुनसुकै बेला अपराधीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका हुन् ।
महानिरीक्षक कार्कीले व्यक्तिको स्मरण समयसँगै कमजोर हुँदै गए पनि प्रहरी संगठनले विगतका आपराधिक घटनालाई नबिर्सने बताए ।
‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,’ उनले भने ।
यद्यपि, पुराना घटनाको अनुसन्धानमा प्रहरीले चाहेजस्तो सफलता हासिल गर्न नसकेको उनले स्वीकार गरे । पुराना चर्चित तथा जघन्य प्रकृतिका घटनाको अध्ययन र निरन्तर अनुसन्धान भइरहेको भन्दै उनले केही घटनामा सफलता समेत प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पुराना जघन्य अपराधका घटनाको अनुसन्धान भइरहेको छ । ‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ उनले भने ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…