रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'
उनको निधनले मैथिली साहित्य, नेपाली साहित्य तथा जनकपुरको बौद्धिक र साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा साहित्यप्रेमीहरूले बताएका छन् । डा. विमल मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा सधैं स्मरणीय रहनेछन् ।

२०८३ साउन २६ मंगलबार, बिहान ७:४७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ ।
डा. विमलको सोमबार राति १२:३० देखि १२:४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीर जनकपुरधामस्थित देवीचोकको निवासमा अन्तिम दर्शनका लागि राखिएको छ ।
मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा स्थापित डा. विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ । साहित्य, भाषा, शिक्षा र संस्कृतिको क्षेत्रमा लामो समय योगदान दिएका उनी जनकपुरको साहित्यिक वृत्तमा शालीन, भद्र व्यक्तित्व तथा साहित्यिक गुरुका रूपमा सम्मानित थिए ।
डा. विमल मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत थिए । मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
डा. विमलको जन्म २६ जुलाई १९४७ मा धनुषा जिल्लाको देवडिहा गाउँसँगै रहेको खिरखिरिया गाउँमा भएको थियो । नेपाली, मैथिली र हिन्दी भाषामा स्नातकोत्तर गरेका उनले भाषाविज्ञान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका थिए ।
जीवनको लामो समय शिक्षण पेशामा बिताएका डा. विमलले जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा प्राध्यापन गरेका थिए । चार दशकभन्दा लामो समय प्राध्यापनमा बिताएर उनी अवकाशप्राप्त भएका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…