तीन दिनदेखि सम्पर्कविहीन पूर्वमेयर सिंह जंगलमा मृत फेला
त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको तालिमप्राप्त ‘के–९’ कुकुरको टोली र ड्रोन क्यामेराको सहयोगमा जंगल क्षेत्रमा सघन खोजी अभियान सञ्चालन गरिएको थियो ।

२०८३ साउन २४ आइतबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, कपिलवस्तु । तीन दिनदेखि रहस्यमय ढङ्गले सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।
६५ वर्षीय सिंहको शव आइतबार जिल्लाको गोरुसिङ्गेस्थित जंगलभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मनोहर भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार सिंह शुक्रबार बिहान करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै निवासबाट निर्माणाधीन कृषि फार्म निरीक्षणका लागि निस्किएका थिए । सोही दिन दिउँसो करिब साढे ३ बजे उनी रामराज पुल नजिकैको सीसीटीभी फुटेजमा देखिएका थिए ।
त्यसपछि सिंहले आफन्तलाई फोन गरी आफू जंगलमा बाटो बिर्सिएर अलपत्र परेको जानकारी गराएका थिए । फोन सम्पर्कपछि भने उनीसँग पुनः सम्पर्क हुन सकेको थिएन ।
सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा उनले प्रयोग गर्ने लु।प्र। ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र गोरुसिङ्गे जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा शुक्रबार नै फेला पारेको थियो ।
त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको तालिमप्राप्त ‘के–९’ कुकुरको टोली र ड्रोन क्यामेराको सहयोगमा जंगल क्षेत्रमा सघन खोजी अभियान सञ्चालन गरिएको थियो ।
निरन्तरको खोजीका क्रममा आइतबार सिंहको शव जंगलभित्र फेला परेको हो ।
विराटनगर पुर्ख्यौली घर भएका सिंह लामो समयदेखि परिवारसहित कपिलवस्तुमा बस्दै आएका थिए । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।
सिंहको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाको कारण पत्ता लगाउन शवको प्रारम्भिक परीक्षण तथा पोष्टमार्टमको कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
घटनाबारे प्राविधिक तथा स्थलगत अनुसन्धानसमेत तीव्र पारिएको प्रहरीको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…