मधेशमा एलपीजी ग्यासको हाहाकार, सिलिन्डर बोकेर डिलर धाउँदै उपभोक्ता

२०८३ श्रावण १९ मंगलबार
बिहान ०८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ता मारमा परेका छन् ।

जनकपुरधाम, वीरगञ्ज, लहान, राजविराज, मलंगवा, गौर र कलैयालगायतका मुख्य बजारमा एक सातादेखि ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन । उपभोक्ताहरू खाली सिलिन्डर बोकेर डिलरदेखि डिलरसम्म धाउन बाध्य छन् ।

जनकपुरधामका रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक र पेठिया बजारलगायतका क्षेत्रमा रहेका अधिकांश डिलरले ग्यास सकिएको भन्दै उपभोक्ताको नाम टिपेर फर्काउने गरेका छन् । कतिपय डिलरले पसल नै बन्द गरेका छन् ।

ग्यास अभावको प्रत्यक्ष असर घरपरिवारसँगै होटल, रेष्टुरेन्ट तथा साना व्यवसायमा परेको छ । विशेषगरी विद्यार्थी, स्वास्थ्यकर्मी, मजदुर तथा साना होटल सञ्चालकलाई खाना पकाउन समस्या भएको छ ।

केही उपभोक्ताले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने आशंका व्यक्त गरेका छन् । ठूला होटल तथा व्यवसायीलाई बढी मूल्यमा ग्यास उपलब्ध गराइएको भन्ने गुनासोसमेत आए पनि यसको आधिकारिक पुष्टि भएको छैन ।

ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले भने ग्यास अभाव कृत्रिम नभएको दाबी गरेका छन् । उनका अनुसार सुनसरी घटनापछि लगाइएको कर्फ्यु, निषेधाज्ञा र यातायात अवरोधका कारण करिब एक सातासम्म ग्यास बोकेका ट्यांकर सञ्चालन हुन नसक्दा आपूर्ति प्रभावित भएको हो ।

पण्डितका अनुसार पछिल्ला दुई दिनदेखि विभिन्न कम्पनीका ग्यास आउन थालेकाले आपूर्ति क्रमशः सहज हुँदै गएको छ । भारतको बरौनीबाट हुने ढुवानी प्रभावित भएपछि हल्दिया र मथुरालगायतका रुटबाट ग्यास ल्याउनुपर्दा थप समय लागेको उनको भनाइ छ ।

यता नेपाल आयल निगमले ग्यास उपलब्ध नगराउने वा अनियमितता गर्ने डिलरबारे तत्काल जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ ।

उपभोक्ता अधिकारकर्मीहरूले भने ग्यासको मौज्दात, वितरण प्रक्रिया र डिलरहरूको बिक्री अभिलेख तत्काल छानबिन गरी कृत्रिम अभाव र कालोबजारी रोक्न माग गरेका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ श्रावण १९ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus