जनकपुर आन्दोलनमा घाइते तथा आगजनीपीडित परिवारसँग मेयर साहको भेट, छानबिन र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता
पीडित परिवारका अनुसार घटनामा प्रयोग गरिएको अश्रुग्यासको सेल सन् २०१६ मै म्याद सकिएको थियो । अर्थात् करिब १० वर्ष पुरानो तथा प्रयोग गर्न नमिल्ने सेल आन्दोलनका क्रममा प्रयोग गरिएको दाबी गरिएको छ । यस विषयमा समेत छानबिन हुनुपर्ने माग गरिएको छ ।

२०८३ साउन १८ सोमबार, बिहान ७:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले आन्दोलनका क्रममा घाइते भएका तथा लुटपाट र आगजनीबाट प्रभावित परिवारसँग भेटघाट गरी घटनाबारे जानकारी लिएका छन् ।
बिहीबार भएको आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–८ निवासी कुवर झाका छोरा आदित्य झा आफ्नै घरको बरन्डामा परिवारका सदस्यसँग बसिरहेका बेला प्रहरीद्वारा प्रहार गरिएको अश्रुग्यासको सेल लागेर घाइते भएको परिवारले जनाएको छ ।
अश्रुग्यासको सेल सिधै आदित्यको काखमा लागेपछि उनी घाइते भएका थिए । उनको तत्कालै प्रादेशिक अस्पतालमा उपचार गराइएको जनाइएको छ ।
घटनाबारे जानकारी पाएपछि मेयर साहले घाइते आदित्य र उनका परिवारसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटका क्रममा मेयर साहले पीडित परिवारलाई आवश्यक सहयोगका लागि उपमहानगरपालिका साथमा रहने बताए ।
मेयर साहले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाहीका लागि सम्बन्धित माथिल्लो निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पीडित परिवारका अनुसार घटनामा प्रयोग गरिएको अश्रुग्यासको सेल सन् २०१६ मै म्याद सकिएको थियो । अर्थात् करिब १० वर्ष पुरानो तथा प्रयोग गर्न नमिल्ने सेल आन्दोलनका क्रममा प्रयोग गरिएको दाबी गरिएको छ । यस विषयमा समेत छानबिन हुनुपर्ने माग गरिएको छ ।
यसैबीच, आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–६ निवासी बच्चा राइन, आलम राइन तथा मासु व्यवसायी हकिम र उनका कर्मचारीसहित माछा बजार क्षेत्रका अन्य मासु व्यवसायीका पसल तथा घरमा भएको लुटपाट र आगजनीबारे पनि मेयर साहले स्थलगत निरीक्षण गर्नुभएको छ ।
मेयर साहले घटनास्थलमै पुगेर पीडित व्यवसायी तथा स्थानीयसँग भेटघाट गर्दै भएको क्षतिको विवरण लिएको हो ।
पीडित परिवारसँगको भेटमा मेयर साहले जनकपुरधामको शान्ति, सामाजिक सद्भाव र नागरिकको सुरक्षामाथि भएको यस्तो घटनाप्रति दुःख व्यक्त गर्दै संकटको यस घडीमा सम्पूर्ण जनकपुरधामवासी पीडित परिवारसँग एकताबद्ध रहेको बताए ।
उनले आगजनी तथा लुटपाटबाट भएको क्षतिको उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आन्दोलनका क्रममा प्रहरीको कारबाहीबाट सर्वसाधारण घाइते भएको तथा अर्कोतर्फ केही क्षेत्रमा लुटपाट र आगजनी भएको घटनाले जनकपुरधाममा सुरक्षा व्यवस्था र घटनाको निष्पक्ष छानबिनमाथि प्रश्न उठेको छ । पीडित पक्षले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन र क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…