मधेश प्रदेशमै धनुषाधाम वनमा चिडियाखाना बनाइने मन्त्री चौधरीको प्रतिवद्धता
त्यसैगरी २०८० चैतमा तत्कालीन संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले धनुषाधाम वनलाई संरक्षण गर्दै चिडियाखानाका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा अध्ययन टोलीसमेत पठाइने घोषणा गरिएको थियो ।

२०८३ साउन १० आइतबार, राति ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एकमात्र संरक्षित वन क्षेत्र धनुषाधाम वनलाई चिडियाखानाका रूपमा विकास गर्ने बहुचर्चित योजना पुनः अघि बढ्ने संकेत देखिएको छ । संघीय कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धनुषाधाम वनलाई चिडियाखानाका रूपमा विकास गर्ने विषयमा आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएकी छन् ।
शनिबार धनुषाधामस्थित संरक्षित वन परिषद्को आयोजनामा भएको कार्यक्रममा मन्त्री चौधरीले कुनै पनि योजना अध्ययन, कानुनी प्रक्रिया र सम्भाव्यता विश्लेषणपछि मात्रै कार्यान्वयनमा लैजाने स्पष्ट पारिन् । उनले धनुषाधामको धार्मिक, प्राकृतिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर चिडियाखाना निर्माणको सम्भावनाबारे मन्त्रालय सकारात्मक रहेको बताइन् ।
कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीले पनि प्रदेश सरकारको सीमित स्रोत–साधनले मात्र यस्तो महत्वाकांक्षी योजना सम्भव नरहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
धनुषाधाम वनमा चिडियाखाना निर्माणको प्रस्ताव भने नयाँ होइन । यसअघि २०७८ सालमै तत्कालीन वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधामलाई प्राणी उद्यान (चिडियाखाना) र वनस्पति अध्ययन केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका थिए । त्यसबेला सरकारले प्रारम्भिक अध्ययनसमेत अघि बढाउने जनाएको थियो ।
त्यसपछि २०८० माघमा तत्कालीन संघीय वन तथा वातावरण मन्त्री डा। वीरेन्द्रप्रसाद महतोले धनुषाधाम चिडियाखानाका लागि उपयुक्त स्थान रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढाउन कार्यदललाई निर्देशन दिएका थिए । त्यतिबेला धनुषा क्षेत्र नम्बर–१ का सांसद दीपक कार्कीले पनि फागुनमै शिलान्यास हुने गरी काम अघि बढाउन आग्रह गरेका थिए ।
त्यसैगरी २०८० चैतमा तत्कालीन संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले धनुषाधाम वनलाई संरक्षण गर्दै चिडियाखानाका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा अध्ययन टोलीसमेत पठाइने घोषणा गरिएको थियो ।
तर पटक–पटक मन्त्री र सरकारबाट प्रतिबद्धता आए पनि चिडियाखाना निर्माणको काम भने अहिलेसम्म व्यवहारमा अघि बढ्न सकेको छैन । यसपटक मन्त्री गीता चौधरीले पुनः अध्ययन र सम्भाव्यता विश्लेषणपछि प्रक्रिया अघि बढाइने बताएसँगै स्थानीयवासीले यस योजनाले अब मूर्त रूप पाउने अपेक्षा गरेका छन् ।
३६५ हेक्टर क्षेत्रफलमा फैलिएको धनुषाधाम संरक्षित वन धार्मिक, ऐतिहासिक तथा जैविक विविधताका दृष्टिले मधेश प्रदेशकै महत्वपूर्ण वन क्षेत्र मानिन्छ । चिडियाखाना निर्माण हुन सके धार्मिक पर्यटनसँगै पर्यावरणीय पर्यटन, वन्यजन्तु संरक्षण, स्थानीय रोजगारी र प्रदेशको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…