रोगमा मात्रै होइन, लासमा पनि ३% कर, निजी अस्पतालमा उपचारदेखि शवगृहसम्म ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछानेका अनुसार नेपालभर करिब पाँच हजार ३०० एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये ४४३ वटा निजी अस्पतालका हुन् । उनका अनुसार सरकारी, सामुदायिक वा संस्थागत एम्बुलेन्समा भने यो शुल्क लागू नहुने, निजी अस्पतालबाट सञ्चालित एम्बुलेन्समा मात्रै लागू हुने व्यवस्था गरिएको छ ।

२०८३ साउन ४ सोमबार, बिहान १०:०० बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लागू गरेको ‘स्वास्थ्य समता शुल्क’ कार्यान्वयनमा आएसँगै निजी अस्पतालमा उपचार गराउने बिरामीले उपचारका अधिकांश सेवामा थप ३ प्रतिशत शुल्क तिर्नुपर्ने भएको छ । यो व्यवस्था साउन १ गतेदेखि लागू भएको हो ।
नयाँ व्यवस्थाअनुसार निजी अस्पतालमा टिकट, ल्याब परीक्षण, शल्यक्रिया, एम्बुलेन्स, शववाहन, रगत, डायलाइसिस, क्यान्सर उपचारदेखि शवगृहमा शव राख्ने सेवासम्म ३ प्रतिशत स्वास्थ्य समता शुल्क जोडेर बिल उठाउन थालिएको छ ।
काठमाडौंस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले साउन १ गतेदेखि सरकारी निर्देशनअनुसार उक्त शुल्क उठाउन सुरु गरेको जनाएको छ । अस्पतालका बिल काउन्टरका कर्मचारी रामएकवाल ठाकुरका अनुसार बिरामीले एम्बुलेन्स प्रयोग गर्दा लागेको ६०० रुपैयाँ शुल्कमा ३ प्रतिशत समता शुल्क जोडेर ६१८ रुपैयाँ असुल गरिएको छ । उनका अनुसार एम्बुलेन्स मात्र होइन, शववाहन प्रयोग गर्दा पनि यही शुल्क लाग्नेछ ।
नयाँ व्यवस्थाअनुसार निजी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भए शववाहन प्रयोग गर्दा लाग्ने भाडा तथा शवगृहमा शव राख्ने शुल्कमा समेत ३ प्रतिशत स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ । आजको नयाँ पत्रिकामा समाचार छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछानेका अनुसार नेपालभर करिब पाँच हजार ३०० एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये ४४३ वटा निजी अस्पतालका हुन् । उनका अनुसार सरकारी, सामुदायिक वा संस्थागत एम्बुलेन्समा भने यो शुल्क लागू नहुने, निजी अस्पतालबाट सञ्चालित एम्बुलेन्समा मात्रै लागू हुने व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ५५६ शववाहन सञ्चालनमा छन् । तीमध्ये करिब १०० वटा निजी अस्पतालका हुन् । यिनै निजी शववाहन प्रयोग गर्दा पनि अतिरिक्त ३ प्रतिशत शुल्क तिर्नुपर्ने भएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…