आरसीसी ढलानको गुणस्तरबारे प्रश्न उठाउँदा पत्रकारमाथि आक्रमण
स्थानीयको जनगुनासोपछि स्थलगत रिपोर्टिङमा पुगेका रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादवको टाउकोमा तीन टाँका।

२०८३ असार १२ शुक्रबार, बिहान ११:२० बजे१ मिनेट पढाइ

कर्जनहा नगरपालिकाको मरेवा बजारदेखि खोला टोलसम्म भइरहेको आरसीसी ढलान निर्माण कार्य गुणस्तरहीन भएको भन्दै स्थानीयवासीबाट लगातार जनगुनासो आएपछि स्थलगत रिपोर्टिङ गर्न पुगेका रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादवमाथि आक्रमण भएको छ।
पत्रकार यादव निर्माणाधीन योजनास्थलमा पुगेर कार्यको अवस्था अवलोकन गरी वडा अध्यक्षसँग योजनाको गुणस्तर तथा जनगुनासोबारे प्रतिक्रिया लिन खोजिरहेका बेला विवाद उत्पन्न भएको बताइएको छ। सोही क्रममा कर्जनहा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामसेवक यादवका छोराले पत्रकार यादवमाथि फाइटर प्रहार गरेको आरोप लागेको छ।
आक्रमणबाट पत्रकार यादवको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका क्रममा उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
स्थानीयवासीका अनुसार निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला समाचार संकलन तथा सम्बन्धित पक्षको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि भएको आक्रमणले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…