रास्वपाको पालिका अधिवेशन मधेशमा विवादित, धनुषा जिल्ला कार्यालयमा तालाबन्दी

२०८३ जेठ २३ शनिबार
बिहान ०८:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूजब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिकास्तरीय नगर अधिवेशन मधेश प्रदेशका विभिन्न जिल्लामा विवादित बन्दै गएको छ। नगर नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच विवाद बढ्दै जाँदा सांसदमाथि दुर्व्यवहार, कार्यकर्ताबीच झडप तथा पार्टी कार्यालयमा तालाबन्दीसम्मका घटना सार्वजनिक भएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर उत्पन्न विवादले शुक्रबार जनकपुरधामस्थित रास्वपाको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। नगर अधिवेशनको वैधानिकतामाथि दुई पक्षबीच विवाद भएपछि फरक–फरक मितिमा छुट्टाछुट्टै अधिवेशन सम्पन्न गरिएको दाबी गरिएको छ।

एक पक्षले गत जेठ १५ गते अधिवेशन सम्पन्न गरी प्रतिक नेपालको नेतृत्वमा समिति चयन गरेको जनाएको छ। उक्त अधिवेशन केही वडाध्यक्ष तथा कार्यकर्तालाई जानकारी नै नदिई गोप्य रूपमा सम्पन्न गरिएको आरोप लगाउँदै अर्को पक्षले जेठ १७ गते छुट्टै अधिवेशन गरेको थियो। सो अधिवेशनबाट राकेश यादवको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको दाबी गरिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यादवले आफूहरूको अधिवेशनमा जिल्ला सभापति तथा निर्वाचन समितिका प्रतिनिधिको उपस्थिति रहेको बताए। उनका अनुसार उक्त अधिवेशनबाट चयन भएको समितिको विवरण पार्टीको आधिकारिक वेबसाइटमा समेत समावेश गरिएको थियो। तर पछि वेबसाइटबाट नामावली हटाइएपछि विवाद चर्किएको उनले बताए।

वेबसाइटबाट आफ्नो समितिको नाम हटाइएको विरोधमा कार्यसमितिका पदाधिकारी तथा गणेशमान चारनाथ नगरपालिकाका रास्वपा सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको यादवको भनाइ छ।

उनले पार्टीभित्र गुटबन्दी हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै विवाद समाधानका लागि दुवै पक्षलाई समेटेर पुनः अधिवेशन गरिनुपर्ने माग जिल्लादेखि केन्द्रसम्म राखिएको बताए। तर सम्बन्धित निकायबाट कुनै चासो नदेखाइएकाले तालाबन्दी गर्न बाध्य भएको उनको दाबी छ।

यादवले विवाद समाधानका लागि केन्द्रीय नेतृत्वसँग सम्पर्क गर्दा जिल्ला समितिसँग समन्वय गर्न भनिएको तर जिल्ला नेतृत्व नै सम्पर्कविहीन रहेको आरोप लगाए। निष्पक्ष ढंगले पुनः अधिवेशन नगरेसम्म तालाबन्दी नखोल्ने चेतावनी समेत उनले दिएका छन्।

उता प्रतिक नेपालसँग सम्पर्क गर्ने प्रयास भए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।

यसअघि पार्टीको अनुशासन आयोगले विवादित पालिकाहरूको अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो। आयोगले जेठ १९ गते जारी गरेको निर्देशनमा जनकपुरधाम उपमहानगरपालिकासहित विवाद देखिएका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न भनिएको थियो।

तर सोही दिन जनकपुरधाम उपमहानगर समितिको नेतृत्व चयनका लागि मतदान सम्पन्न गरिएको बताइएको छ। अधिवेशनमा २१ मत खसेको र वडा सभापतिहरूलाई मात्र प्रतिनिधि बनाएर गरिएको मतदानबाट ललन नायक १६ मतसहित सभापतिमा निर्वाचित भएको घोषणा गरिएको थियो। उनका प्रतिस्पर्धी जितेन्द्र महासेठले ५ मत प्राप्त गरेका थिए।

तर अधिवेशन प्रक्रिया पार्टी विधानविपरीत रहेको भन्दै महासेठसहित स्थानीय नेता तथा कार्यकर्ताले आपत्ति जनाएका छन्। महासेठले वडा सभापतिहरूलाई छलफलका लागि बोलाएर पूर्वतयारी र सहमतिविना अचानक मतदान गराइएको आरोप लगाएका छन्।

रास्वपाको पालिका अधिवेशनलाई लिएर मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको विवाद समाधानका लागि पार्टी नेतृत्वले आवश्यक पहल नगरे असन्तुष्टि अझ बढ्न सक्ने देखिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ जेठ २३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus