सिरहामा सामाजिक सञ्जालमार्फत आतंक फैलाउने २५ युवकसहित २१ मोटरसाइकल पक्राउ
सिरहा–चोहर्वा सडकखण्डमा गरिएको नियमित चेकजाँचका क्रममा जिल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना गरी कुल २५ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

२०८३ जेठ १७ आइतबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सामाजिक सञ्जालमा विभिन्न ग्याङ्ग तथा समूहको नाम प्रयोग गरी समाजमा आतंक फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न २५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार King of Balan, King of Bhagwanpur, King of Lahan र Killers Brother लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा समूह बनाएर गालीगलौज, धम्कीपूर्ण भिडियो पोस्ट गर्ने र युवाहरूलाई संगठित गर्ने कार्य भइरहेको थियो।
यस्तै, बिना हेल्मेट, आवश्यक कागजपत्रबिनै तथा नम्बर प्लेट नभएका मोटरसाइकलमा ३ देखि ४ जनासम्म सवार भई राजमार्गमा होहल्ला गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सामाजिक शान्ति भंग गर्ने गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
सिरहा–चोहर्वा सडकखण्डमा गरिएको नियमित चेकजाँचका क्रममा जिल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना गरी कुल २५ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका युवामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै ग्याङ्ग संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…