पश्चिम बंगालमा ममताको राजनीतिक किल्ला ध्वस्त, मोदीलाई प्रचण्ड बहुमत, उत्तर प्रदेशमा के पर्ला असर ?

२०८३ बैशाख २२ मंगलबार
बिहान ०८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत ।  पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यस नतिजाको प्रत्यक्ष प्रभाव अब उत्तर प्रदेशको २०२७ विधानसभा चुनावमा देखिन सक्ने राजनीतिक विश्लेषकहरूले बताएका छन्। बंगालमा सत्तारूढ दलको कमजोर प्रदर्शन र राष्ट्रिय दलको मजबुत उपस्थितिले उत्तर प्रदेशमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवका लागि चुनौती थपिएको आंकलन गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बंगालको नतिजाले विपक्षी गठबन्धनभित्र रणनीतिक पुनरावलोकनको आवश्यकता देखाएको छ। विशेषगरी उत्तर प्रदेशमा समाजवादी पार्टीले आफ्नो जनाधार मजबुत बनाउन अब थप आक्रामक रणनीति अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ।

अखिलेश यादवले आगामी २०२७ चुनावलाई आफ्नो राजनीतिक भविष्यसँग जोडिएको महत्वपूर्ण परीक्षा मानेका छन्। उनले लगातार जनसभा, संगठन विस्तार तथा सामाजिक समीकरणलाई सुदृढ पार्ने अभियान चलाइरहेका छन्। तर बंगालको नतिजाले केवल परम्परागत समीकरणले मात्र चुनाव जित्न कठिन हुने संकेत दिएको छ।

विशेषज्ञहरू भन्छन् कि उत्तर प्रदेशमा बेरोजगारी, महँगी, किसानका समस्या र सामाजिक न्यायका मुद्दालाई प्रभावकारी रूपमा उठाउन सके मात्र समाजवादी पार्टीले सत्ता फर्काउने सम्भावना बलियो बनाउन सक्छ। अन्यथा सत्तारूढ दलको संगठनात्मक शक्ति र चुनावी रणनीतिले अखिलेश यादवलाई थप कठिन अवस्थामा पार्न सक्छ।

यसबीच राजनीतिक वृत्तमा अब एउटा प्रश्न उठ्न थालेको छ—के बंगालको सन्देशबाट पाठ सिक्दै अखिलेश यादव उत्तर प्रदेशमा नयाँ रणनीति तयार पार्न सफल हुनेछन्, वा २०२७ को चुनाव उनको लागि सबैभन्दा ठूलो राजनीतिक चुनौती बन्नेछ ?

बंगालमा ममता बेनर्जी (दिदी) को किल्ला ध्वस्त पारेका बिजेपी अहिले देशको विभिन्न प्रान्तमा आफ्नो बहुमत ल्याउने दाउमा लागेका छन् । सफल समेत भएको देखिएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८३ बैशाख २२ मंगलबार

Bureau Menus