सार्वजनिक बिदामा पनि स्वास्थ्य सेवा निरन्तर राख्न सरकारको निर्देशन
‘स्वास्थ्यकर्मीहरूको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्नु सरकारको प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले आगामी दिनहरूमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य र समन्वय कायम रहने अपेक्षा गरेको छ।

२०८२ चैत २९ आइतबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीहरूलाई असहजता हुन नदिन अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सेवा नरोकिने व्यवस्था मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार लागू गरिएको दुई दिने सार्वजनिक बिदाको सन्दर्भमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्र प्रभावित हुन नदिन विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। सोहीअनुसार अधिकांश अस्पतालहरूले आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालन गरिरहेकोमा मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ।
विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायकहरूका विभिन्न मागप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती विषयहरू समाधान गर्न सकारात्मक र प्रतिबद्ध रहेको जनाइएको छ। साथै, नागरिकको उपचार पाउने अधिकारलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रयास जारी रहेको बताइएको छ।
मन्त्रालयले सम्बन्धित सबै निकायसँग सहकार्य र समन्वय गर्दै स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, सुलभ र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयारी भइरहेको जानकारी दिएको छ। त्यस्ता कार्यविधि पूर्णरूपमा कार्यान्वयन नभएसम्म अस्पतालहरूलाई आफ्नै स्रोत र क्षमताअनुसार सेवा सञ्चालन गर्न पनि आग्रह गरिएको छ।
‘स्वास्थ्यकर्मीहरूको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्नु सरकारको प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले आगामी दिनहरूमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य र समन्वय कायम रहने अपेक्षा गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…