परवाहा नागरिक समाजद्वारा ६ बुँदे मागसहित औरही गाउँपालिकामा ज्ञापनपत्र
निर्माण व्यवसायी छनोट प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने तथा निजी सेटिङ वा कमिसनका आधारमा ठेक्का दिने कार्य रोक्नुपर्नेमा पनि नागरिक समाजले जोड दिएको छ।

२०८२ चैत १० मंगलबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, चैत ११ | धनुषाको औरही गाउँपालिका वडा नं. २ स्थित परवाहा टोलका नागरिकहरूले बजेट पारदर्शिता र अनियमित खर्चप्रति गम्भीर आपत्ति जनाउँदै गाउँपालिकामा ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
परवाहा नागरिक समाजको नेतृत्वमा स्थानीय बासिन्दा, युवा, राजनीतिकर्मी तथा बुद्धिजीवीहरूको संयुक्त टोलीले गाउँपालिकामा पेश गरेको ज्ञापनपत्रमा आर्थिक वर्षका लागि विनियोजित करिब ५० लाख रुपैयाँ पारदर्शी ढंगले सार्वजनिक नगरी अनियमित तथा गैरकानुनी रूपमा खर्च गरिएको आरोप लगाइएको छ। यसले स्थानीय विकास प्रक्रियामा अवरोध सिर्जना गर्नुका साथै जनप्रतिनिधिप्रतिको विश्वासमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा माग गरिएअनुसार आवश्यक बजेट संशोधन नभएसम्म परवाहा क्षेत्रमा कुनै पनि नयाँ निर्माण कार्य सञ्चालन गर्न नदिने चेतावनीसमेत दिइएको छ। साथै, विभिन्न स्थानमा सडक तथा पानी निकासजस्ता आधारभूत पूर्वाधार निर्माणका लागि तत्काल बजेट संशोधन गरी योजना कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।
उनीहरूले लक्ष्मी दासको घरदेखि सिरसिया गाछीसम्म सडक निर्माण, गोरियारी टोलमा पानी निकास व्यवस्था, पुलकित पण्डित र विहारी मण्डलको घर आसपास क्षेत्रको निकास सुधार, अर्जुन मिश्रादेखि सुवोध झासम्मको पानी निकास व्यवस्थापन, मनक दास र शिवनारायण पासवान क्षेत्रको सडक निर्माण, बाला साहदेखि रामनाथ साहसम्मको सडक स्तरोन्नति, छबकाई चौरीस्थित नरहमा कल्भर्ट निर्माण तथा हुलाकी सडक दक्षिणतर्फ इन्द्रकला कृषि फर्मदेखि रेल्वे पटरीसम्म कृषि सडक निर्माण गर्नुपर्ने माग राखेका छन्।
त्यसैगरी, बजेट अनियमितता सम्बन्धी विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारवाही गर्न, संशोधित बजेट विवरण सार्वजनिक गर्न, तथा वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा मात्रै बजेट कार्यान्वयन गर्न पनि माग गरिएको छ।
निर्माण व्यवसायी छनोट प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने तथा निजी सेटिङ वा कमिसनका आधारमा ठेक्का दिने कार्य रोक्नुपर्नेमा पनि नागरिक समाजले जोड दिएको छ।
यता, औरही गाउँपालिकाका पदाधिकारीहरूले भने ज्ञापनपत्रबारे औपचारिक प्रतिक्रिया दिइसकेका छैनन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…