नेकपा एमालेले टुंग्यायो समानुपातिक तर्फका १६ सांसदको नाम
खस–आर्यबाट ५, जनजातिबाट ४, मधेसीबाट ३, दलितबाट २ तथा थारु र मुस्लिम समुदायबाट एक–एक जना चयन

२०८२ फागुन ३० शनिबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित केपी शर्मा ओली निवासमा बसेको पार्टी सचिवालय बैठकले आफ्नो भागमा परेका १६ जना सांसदको नाम अनुमोदन गरेको हो।
गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो भने समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत प्राप्त गरेको थियो। सोही मतका आधारमा एमालेको भागमा १६ जना समानुपातिक सांसद परेका हुन् ।
पार्टीले खस–आर्य समूहबाट ५ जनालाई सांसद बनाउने निर्णय गरेको छ। महिलातर्फ पूर्वमन्त्री पद्यमा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल समेटिएका छन्। पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेललाई चयन गरिएको सचिवालय सदस्यले जानकारी दिएका छन् ।
त्यस्तै, जनजाति क्लस्टरबाट ४ जनाको नाम टुंगो लगाइएको छ। यस समूहमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सांसद बनाउने निर्णय गरिएको छ ।
मधेसी समुदायबाट ३ जनाको नाम छनोट गरिएको छ। जसमा महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव रहेका छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डल परेका छन् ।
दलित कोटाबाट दुईजना महिला विष्णुमाया वी.के. र नीता घटानी सांसद बन्ने भएका छन्। त्यस्तै थारु समुदायबाट कृपाराम राणा तथा मुस्लिम कोटाबाट साजिदा सिद्दीकीको नाम पनि समानुपातिक सांसदका लागि छनोट गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…