न्यूज ब्यूरो, जनकपुरधाम । आसन्न निर्वाचनमा अधिक सिट जितेर प्रधानमन्त्रीका दाबेदार रहेका बालेन्द्र साह (बालेन) लाई संघीय लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीका लागि अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।
निर्वाचनमा बालेनले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको जनाएको छ ।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चाको बैठकले बालेनको जितलाई मधेशी, थारु लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, संघर्ष र बलिदानको परिणामका रूपमा चित्रिणसमेत गरिएको छ ।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मधेशी सपूत माननीय बालेन्द्र साह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो ।’ उक्त बैठकले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अग्रीम शुभकामना तथा बधाई ज्ञापन समेत गरेको छ ।
मोर्चाले बधाई ज्ञापनसंगै बालेनको नेतृत्वबाट मधेशका पुराना र थाती रहेका मुद्दाहरू सम्बोधन हुने ठूलो अपेक्षा राखेको छ । नेपाली जनताले विगतमा गरेका संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशीता लगायतका उपलब्धिहरूलाई नयाँ सरकारले संस्थागत गर्ने मोर्चाले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यसका साथै, संविधान संशोधन, प्रदेशको सीमांकन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीयतालाई अझ बलियो बनाउने जस्ता महत्वपूर्ण मुद्दाहरू बालेनको नेतृत्वमा सम्बोधन हुनेमा विश्वास रहेको जसपा नेपालका संरक्षक ठाकुरले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त बैठकबाट संघीय लोकतान्त्रिक मोर्चाका नेता ठाकुर हालै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकोमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…