जसपा नेपालका क्षेत्रीय अध्यक्ष यादवले दिए पदबाट राजीनामा, साधारण सदस्य समेत नबस्ने घोषणा
राजीनामा सन्देशमार्फत उनले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति आभार व्यक्त गरेका छन्। पार्टीबाट अलग भए पनि मधेश, समाज र जनताको सेवाप्रतिको आफ्नो प्रतिबद्धता कायम रहने उनले उल्लेख गरेका छन्।

२०८२ फागुन २३ शनिबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का क्षेत्रीय अध्यक्ष दिपिनदेव यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। हालै सम्पन्न निर्वाचनको परिणामप्रति नैतिक जिम्मेवारी लिँदै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।
यादवले सार्वजनिक गरेको भावुक सन्देशमा हालैको निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्ममूल्याङ्कन गर्ने अवस्थामा पुर्याएको बताएका छन्। मधेशवादी राजनीतिक आन्दोलनसँग लामो समयदेखि जोडिँदै आएका उनले मधेशको अधिकार, पहिचान र सम्मानका लागि आफूले निरन्तर काम गरेको उल्लेख गरेका छन्।
उनका अनुसार निर्वाचनमा अपेक्षित सफलता हासिल हुन नसक्नु केवल चुनावी हार मात्र नभई पार्टीका लागि गम्भीर सन्देश पनि हो। जनताको भरोसा जित्न पार्टी कतै न कतै कमजोर भएको अनुभूति आफूले गरेको उनले बताएका छन्।
यही नैतिक जिम्मेवारी बोध गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का क्षेत्रीय अध्यक्षको हैसियतले आफूले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने निर्णय गरेको यादवले स्पष्ट पारेका छन्। उनले अब पार्टीको कुनै पनि पदमा नरहने मात्र होइन, साधारण सदस्यको रूपमा समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका छन्।
यादवले आफ्नो निर्णय कसैप्रति आक्रोश वा असन्तुष्टिका कारण नभई राजनीतिक नैतिकता र जनताको भावनालाई सम्मान गर्ने उद्देश्यले लिएको बताएका छन्। राजनीतिमा पदभन्दा पनि विचार र जिम्मेवारी महत्वपूर्ण हुने विश्वासका साथ आफूले यस्तो निर्णय गरेको उनको भनाइ छ।
राजीनामा सन्देशमार्फत उनले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति आभार व्यक्त गरेका छन्। पार्टीबाट अलग भए पनि मधेश, समाज र जनताको सेवाप्रतिको आफ्नो प्रतिबद्धता कायम रहने उनले उल्लेख गरेका छन्।
यादवको यो निर्णयलाई मधेशवादी राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…