न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा प्रेम सम्बन्धकै विवादका कारण १९ वर्षीय युवकको घाँटी रेटेर हत्या गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक किशोरीसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–९ रुदौलीका १९ वर्षीय सुमित मण्डल बिहीबार दिउँसो औरही गाउँपालिका–६ स्थित खेतमा मृत अवस्थामा फेला परेका थिए। उनको घाँटी धारिलो हतियार प्रयोग गरी रेटिएको अवस्थामा शव भेटिएको थियो भने शरीरका विभिन्न भागमा कुटपिटका गम्भीर चोटसमेत देखिएको प्रहरीले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले प्रारम्भिक अनुसन्धानबाट हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको जानकारी दिए। उनका अनुसार मृतक मण्डल र हंसपुर नगरपालिका–६ बस्ने १७ वर्षीया काजलकुमारी मण्डलबिच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो।
प्रहरी अनुसन्धानअनुसार बुधबार काजलको घरमा परिवारका सदस्य नभएको समयमा सुमित उनलाई भेट्न पुगेका थिए। सो क्रममा काजलका काका २९ वर्षीय परमेश्वर मण्डलले थाहा पाएपछि सुमितलाई नियन्त्रणमा लिई काजलका दाजु २० वर्षीय दिपेशकुमार मण्डललाई बोलाएका थिए।
दुवै जनाले मिलेर सुमितका हात पछाडि डोरी र गम्छाले बाँधी निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट गम्भीर घाइते बनेका सुमितलाई मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा खेततर्फ लगिएको थियो।
प्रहरीका अनुसार खेतमा पुर्याएपछि खुकुरी प्रहार गरी उनको घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि आरोपीहरू फरार भएका थिए।
स्थानीयले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरूको पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी, मोटरसाइकल तथा बाँध्न प्रयोग गरिएको सामग्रीसमेत बरामद गरेको छ। बरामद सामग्री परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।
प्रहरीका अनुसार प्रेम सम्बन्धप्रति परिवारको असहमति र त्यसबाट उत्पन्न आक्रोश घटनाको मुख्य कारण रहेको प्रारम्भिक निष्कर्ष छ। घटनामा योजनाबद्ध तयारी भएको आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। घटनापछि स्थानीय क्षेत्र शोकमग्न बनेको छ। पक्राउ परेका काजलकुमारी मण्डल, दिपेशकुमार मण्डल र परमेश्वर मण्डलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८२ फाल्गुण १६ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्


