सिरहा २ मा विभिन्न दल परित्याग गर्दै १०० भन्दा बढी नेता–कार्यकर्ता शिवसँग
धनगढीमाईका चार वडाबाट एकैसाथ ठूलो संख्यामा कार्यकर्ता प्रवेश हुनु आगामी निर्वाचनमा प्रभावकारी संकेतका रूपमा हेरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, यस प्रवेशले सिरहा २ मा प्रतिस्पर्धात्मक वातावरण अझ चर्किने सम्भावना देखिएको छ।

२०८२ फागुन १४ बिहीबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा | सिरहा निर्वाचन क्षेत्र नं. २ मा राजनीतिक समीकरण तीव्र रूपमा परिवर्तन भइरहेको संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादवको उपस्थितिमा धनगढीमाई नगरपालिकाका विभिन्न वडाबाट १०० भन्दा बढी नेता तथा कार्यकर्ताहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन्।
धनगढीमाई नगरपालिका वडा नं.८, ९, १० र ११ का कांग्रेस, माओवादी, जनमत लगायत विभिन्न राजनीतिक दलसँग आबद्ध स्थानीय नेताहरूले पार्टी परित्याग गर्दै रास्वपाको झण्डामुनि एकीकृत भएका हुन्।
कार्यक्रममा माओवादीबाट वडा नं. १२ का संयोजकको भूमिकामा सक्रिय रहेका भरौसी महतोले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेको छ। त्यसैगरी, कम्युनिस्ट धारका स्थानीय प्रभावशाली नेता श्री प्रसाद यादवले समेत आफ्नो राजनीतिक यात्रालाई नयाँ मोड दिँदै रास्वपा रोजेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शिव यादवले सिरहा २ मा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता जनताले महसुस गरिसकेको दाबी गरेको उनले बताए। “सिरहा २ अब पुराना संरचना र सीमित स्वार्थको राजनीतिबाट अघि बढ्न चाहन्छ। युवाहरू, किसान, मजदुर र मध्यम वर्ग परिवर्तनको पक्षमा उभिएका छन्।”
उनका अनुसार पछिल्लो समय स्थानीय तहदेखि प्रतिनिधि सभासम्म पारदर्शिता, सुशासन र जवाफदेहिताको मुद्दाले जनताको समर्थन बटुलिरहेको छ।
धनगढीमाईका चार वडाबाट एकैसाथ ठूलो संख्यामा कार्यकर्ता प्रवेश हुनु आगामी निर्वाचनमा प्रभावकारी संकेतका रूपमा हेरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, यस प्रवेशले सिरहा २ मा प्रतिस्पर्धात्मक वातावरण अझ चर्किने सम्भावना देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…