धनुषा १ः एमालेका निर्वाचित वडा अध्यक्ष पुर्वेले गरे पार्टी परित्याग गरी मातृकासँग
धनुषा निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ जसले आगामी निर्वाचनमा राजनीतिक समीकरणलाई थप रोचक बनाउने संकेत देखिएको छ।

२०८२ माघ २७ मंगलबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेबाट निर्वाचित सबैला नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मुकेश पुर्वेको नेतृत्वमा ७० जना नेता तथा कार्यकर्ताले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
सबैला नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी धनुषा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार मातृका प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य सुधिर साह, सबैला नगरपालिका नगर अध्यक्ष दुखी यादव, रोशन यादव, जुगेश्वर यादवलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्ने वक्ताहरूले देशको संघीय संरचना र संविधानमाथि चुनौती बढ्दै गएको अवस्थामा त्यसको रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टीलाई सशक्त बनाउन आवश्यक रहेको धारणा राखे। उनीहरूले संघीयता, समावेशिता र जनताको अधिकारको संरक्षणका लागि मातृका प्रसाद यादवलाई विजयी गराउनु अपरिहार्य रहेको जिकिर गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नेकपा जनताको हक अधिकार, संघीयता र संविधानको रक्षाका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गरे। उनले धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेकपाप्रति जनसमर्थन बढ्दो क्रममा रहेको बताउँदै एमालेसहित विभिन्न दलबाट पार्टी प्रवेशको लहर चलिरहेको दाबी गरे।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ जसले आगामी निर्वाचनमा राजनीतिक समीकरणलाई थप रोचक बनाउने संकेत देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…