जेनजी अगुवा मिराज ढुँगानाको नेतृत्वमा भोलीदेखि आन्दोलनको घोषणा
त्यसैगरी विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न, उखुकिसान र सहकारीपीडितलाई न्याय दिन तथा जेनजी आन्दोलनका क्रममा उठाइएका सम्पूर्ण माग र मुद्दा तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको समूहले जनाएको छ।

२०८२ पुस ६ आइतबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जेनजी अगुवा मिराज ढुङ्गानाको नेतृत्वमा रहेको समूहले जेनजीका माग र मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ।
समूहले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत युवाको भावना र अपेक्षाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाउँदै सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने जनाएको हो।
सो अवसरमा जेनजी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य तथा सुशासनका पक्षमा भएको अघिल्लो आन्दोलनको मर्मअनुसार ठोस उपलब्धि हासिल हुन नसकेकाले पुनः सडक संघर्षमा उत्रन बाध्य भएको बताउनुभयो।
उहाँले राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय प्रणाली र संविधान पुनर्लेखनसहितका संवैधानिक सुधार, पक्राउ परेका जेनजी अभियन्ताको तत्काल रिहाइ तथा आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो।
समूहले आन्दोलनका क्रममा घाइते भएकालाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न, सहिद परिवारलाई सम्मान र सुरक्षासहितको स्थायी व्यवस्था गर्न, रोजगारीको सुनिश्चितता गर्न तथा सबै तह र निकायमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
त्यसैगरी विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न, उखुकिसान र सहकारीपीडितलाई न्याय दिन तथा जेनजी आन्दोलनका क्रममा उठाइएका सम्पूर्ण माग र मुद्दा तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको समूहले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…