जनकपुरधाममा नियम नमान्ने ई–रिक्सामाथि कारबाही हुने चेतावनी
ई–रिक्सा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन यसअघि विभिन्न सरोकारवाला निकायसँग पटकपटक छलफल तथा बैठक गरिएको उल्लेख गर्दै नगर क्षेत्रभित्र ई–रिक्साको चाप घटाउने र निश्चित मापदण्डअनुसार सञ्चालन गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ। यसबाट ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटनाको जोखिम घट्ने र नगरको समग्र सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ।

२०८२ पुस ३ बिहीबार, बिहान ९:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले ट्राफिक नियम उल्लङ्घन गर्दै सञ्चालन भइरहेका ई–रिक्सा, अटो–रिक्सा तथा टेम्पोजस्ता सवारी साधनमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा ई–रिक्सा चालकबाट हुने दुव्र्यवहार, तोकिएकोभन्दा बढी भाडा असुली, जथाभावी पार्किङ तथा यात्रु चढाउने–ओराल्ने क्रममा ट्राफिक नियमको निरन्तर उल्लङ्घन भइरहेको गुनासो आइरहेकाले नियम नमान्ने सवारी साधनमाथि कारबाही गरिने स्पष्ट पारिएको छ।
अव्यवस्थित ई–रिक्सा सञ्चालनका कारण नगरभित्र ट्राफिक अस्तव्यस्त हुनुका साथै सवारी दुर्घटनाको जोखिम बढेको, पैदलयात्रीसमेत प्रभावित भएको निष्कर्ष निकाल्दै उपमहानगरपालिकाले ई–रिक्सा चालक र नगरवासीलाई ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न आग्रह गरेको छ। यस्ता गतिविधिका कारण सर्वसाधारण, पैदलयात्री, आन्तरिक तथा बाह्य पर्यटक, सुरक्षाकर्मी र नगरवासीले पटकपटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएको उपमहानगरपालिकाले जनाएको छ।
विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार टेम्पो, अटो–रिक्सा तथा ई–रिक्साजस्ता सवारी साधनको कर निर्धारण, दर्ता, अनुमति तथा नियमन गर्ने अधिकार स्थानीय तहमा निहित रहेको उल्लेख गरिएको छ। सोही कानुनी प्रावधानका आधारमा जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा दर्ता प्रक्रिया सुरु गरिसकेको र आगामी दिनमा सञ्चालन अनुमति तथा नियमनलाई थप प्रभावकारी बनाइने जानकारी दिएको छ।
ई–रिक्सा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन यसअघि विभिन्न सरोकारवाला निकायसँग पटकपटक छलफल तथा बैठक गरिएको उल्लेख गर्दै नगर क्षेत्रभित्र ई–रिक्साको चाप घटाउने र निश्चित मापदण्डअनुसार सञ्चालन गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ। यसबाट ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटनाको जोखिम घट्ने र नगरको समग्र सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ।
यता यातायात व्यवस्था कार्यालयमा दर्ता भएका ई–रिक्सा चालकहरू भने नगरभित्र सञ्चालन गर्न नदिएको भन्दै पछिल्ला दुई दिनदेखि आन्दोलनमा उत्रिएका छन्। आफूहरू कानुनबमोजिम दर्ता भए पनि उपमहानगरपालिकाले नगर क्षेत्रमा ई–रिक्सा चलाउन अवरोध गरेको भन्दै उनीहरू आक्रोशित बनेका छन्।
उपमहानगरपालिका क्षेत्रमा हजारौँको संख्यामा ई–रिक्सा सञ्चालन भइरहेकाले ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ। अत्यधिक ई–रिक्साका कारण नगरभित्र अन्य सवारी साधन मात्र होइन, पैदलयात्रीसमेत समस्यामा परिरहेका छन्। आन्दोलनका क्रममा बुधबार केही ई–रिक्सा चालकले अन्य ई–रिक्साबाट यात्रु उतारेर जबर्जस्ती आन्दोलनमा सहभागी गराएको आरोपसमेत लागेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…