जनकपुरमा देशकै उत्कृष्ट जेसिज महाधिवेशन, चार दिन जनकपुर उत्सवमय बन्दैः जेसिज मुकेश साह
चार दिनसम्म चल्ने महाधिवेशन अवधिभर जनकपुरधाममा नेतृत्व विकास, नीति निर्माण, सांस्कृतिक उत्सव र आपसी भाइचारा एकैसाथ देखिने अपेक्षा गरिएको छ । जेसिज मुकेश कुमार साहको नेतृत्वमा भइरहेको तयारीले जनकपुरधामलाई केवल आयोजक सहर मात्र नभई नेपाल जेसिजको इतिहासमा नयाँ अध्याय लेख्ने थलो बनाउने विश्वास स्थानीय जेसिजकर्मी तथा सर्वसाधारणले व्यक्त गरेका छन् ।

२०८२ पुस २ बुधबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशकै प्रतिष्ठित युवा नेतृत्व संगठन नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा आयोजना हुन लागेसँगै सम्पूर्ण सहर उत्सवमय बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामले अब राष्ट्रिय स्तरको नेतृत्व, एकता र सम्भावनाको महाकुम्भको स्वागत गर्न तयारी तीव्र बनाएको छ ।
जनकपुरधामको तिरहुतिया गाछीमा निर्माण भइरहेको विशाल पण्डाल अन्तिम चरणमा पुगेसँगै महाधिवेशनको माहौल थप रोमाञ्चक बन्दै गएको छ । कार्यक्रमका होस्ट च्याप्टर जेसिज जनकपुरका अध्यक्ष तथा महाधिवेशन तयारी समितिका अगुवा जेसिज मुकेश कुमार साहले यो महाधिवेशन नेपाल जेसिजको इतिहासमै उत्कृष्ट र अविस्मरणीय हुने दाबी गरेका छन् ।
“चार दिनसम्म चल्ने यो महाधिवेशनले जनकपुरधामको माहौल नै बदलिनेछ,” जेसिज साहले भने, “देशभरिका जेसिज सदस्यहरूले जनकपुरलाई नयाँ दृष्टिले अनुभूति गर्नेछन् । यो केवल अधिवेशन मात्र होइन, जनकपुरको पहिचान, आतिथ्यता र क्षमताको प्रदर्शन पनि हो ।”
उनका अनुसार देशभरका १८६ शाखाबाट तीन हजारभन्दा बढी प्रतिनिधि पहिलो पटक जनकपुरधाम आउन लागेका छन् । त्यसैअनुसार प्रतिनिधिहरूलाई फरक अनुभूति दिलाउने गरी पण्डाल, सजावट, व्यवस्थापन तथा सांस्कृतिक प्रस्तुतिहरूलाई विशेष ध्यान दिइएको छ । “हामी जनकपुर आएको अनुभवलाई जीवनभर सम्झन लायक बनाउन चाहन्छौं,” उनले भावनात्मक रूपमा भने ।
महाधिवेशनको अवसरमा जनकपुरधामको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि रहेको जेसिज साहले उल्लेख गरे । “जानकी मन्दिर, मिथिला संस्कृति, यहाँको आत्मीयता र समृद्ध परम्पराले सहभागीहरूलाई अवश्य नै आकर्षित गर्नेछ,” उनले थपे ।
चार दिनसम्म चल्ने महाधिवेशन अवधिभर जनकपुरधाममा नेतृत्व विकास, नीति निर्माण, सांस्कृतिक उत्सव र आपसी भाइचारा एकैसाथ देखिने अपेक्षा गरिएको छ । जेसिज मुकेश कुमार साहको नेतृत्वमा भइरहेको तयारीले जनकपुरधामलाई केवल आयोजक सहर मात्र नभई नेपाल जेसिजको इतिहासमा नयाँ अध्याय लेख्ने थलो बनाउने विश्वास स्थानीय जेसिजकर्मी तथा सर्वसाधारणले व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…