मुसहर समुदायका विद्यार्थीहरु उच्च शिक्षा तर्फ आकर्षित हुंदै
न्यूज ब्यूरो | जनकपुरधाम, 10, साउन । राज्यको सेवा सुविधाको पहुँचबाट बाहिर रहेका अतिपिछडिएको मधेसी दलित समुदायका मुसहर जातिका दर्जनाँै विद्यार्थी उच्च शिक्षाको पहुँचमा पुगेकालाई सम्मान गरिएको छ । विद्यालय जानबाट वञ्चित रहेका मध्ये तराई मधेश क्षेत्रका पूर्वको मोरङ्ग देखि सप्तरी, सिरहा, धनुषा महोत्तरी,

२०७५ साउन १० बिहीबार, बिहान १०:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, 10, साउन । राज्यको सेवा सुविधाको पहुँचबाट बाहिर रहेका अतिपिछडिएको मधेसी दलित समुदायका मुसहर जातिका दर्जनाँै विद्यार्थी उच्च शिक्षाको पहुँचमा पुगेकालाई सम्मान गरिएको छ ।
विद्यालय जानबाट वञ्चित रहेका मध्ये तराई मधेश क्षेत्रका पूर्वको मोरङ्ग देखि सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, र नवलपरासी गरी ११ जिल्लाबाट विभिन्न तहमा जम्मा २ सय ८७ जना मुसहर विद्यार्थी उच्च शिक्षाको पहुँचमा पुगेकालाई सम्मान गरिएको हो । मुसहर समुदायका लागि काम गरिरहेका भोर संस्थाका अनुसार यस शैक्षिक सत्रमा एसईई २०७४, प्रविणता प्रमाणपत्र तह, स्नात्तक र स्नात्तकोत्तरी गरी २ सय ८७ जना मुसहर विद्यार्थीलाई नेपाली फिल्म जगतका निर्माता, निर्देशक तथा अभिनेता निखिल उप्रेति तथा प्रदेश सांसद रामअशिष यादवले संयुक्त रुपेण सम्मान गरेका थिए । जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
यसरी वर्षाैंदेखि शिक्षाको उज्यालोबाट वञ्चित रहँदै आएका मुसहर समुदायका विद्यार्थीलाई नेपालको इतिहासमै सम्भवत : पहिलो पटक एकैसाथ उच्च शिक्षा हासिल गर्न उच्च माविको दैलो सम्म पुग्न सफल भएको भोरका अध्यक्ष राजकुमार महतोले बताए। उनले भने, ‘शिशु कक्षामा भर्ना भएर स्नातकोत्तर सम्मको अध्ययन उच्च शिक्षा हासिलका लागि कदम अगाडी बढाउनु ठूलो उपलब्धि हो ।
हामीले विगत ८ वर्ष देखि मुसहर समुदायको समुन्नत विकासका लागि काम सुरु गर्दा २०६९ सालमा जम्मा देशभरबाट ३ जना विद्यार्थी एसएलसी पास गरेका थिए । 
तर अहिले यो संख्या बढेर २ सय ८७ पुगेको छ, यो एउटा उपलब्धि मुलक सन्देश हो।’ शक्तिहीनको सशक्तीकरणका लागि भोर नामक समाजिक संस्थाले मुसहर समुदायका समग्र उत्थानका लागि गत दीनाभद्री छात्रवृत्ति कोषको स्थापना गरी सहयोग संकलन गर्दै मुसहर समुदायका विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृति प्रदान गर्दै आएको छ ।
मुसहर विद्यार्थीलाई उच्च शिक्षाको पढाइ पूरा गर्न भोर संस्थाले प्रत्येक वर्ष सहयोग गर्न देश विदेशमा रहेका शिक्षा प्रेमीलाई मुसहर जनउत्थान सरोकारवालाले सामूहिक रुपमा अपिल समेत गरेका छ ।
जनकपुरधाममा आयोजित मुसहर विद्यार्थीहरुलाई सम्मान र उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा समारोहका प्रमुख अतिथि निखिल उप्रेतीले सामाजिक परिवर्तनका लागि शिक्षा सर्वाङ्गीण विकासको खाँचो भएकाले मुसहर समुदायको उत्थानका लागि तत्काल उत्प्रेरण र परिणाम आउने कामलाई अगाडि बढाउन जोड दिएका थिए ।
नेपालमा तराई–मधेसमा बसोबास गर्ने अल्पसंख्यक मुसहर समुदायको कुल जनसंख्या १२ लाखको हाराहारीमा रहेको सियाशरण सदाले दावी गरे ।
उनले भने, ‘मुसहर समुदायका संख्या देशभरिमा १२ लाख भन्दा बढी छ, तर सरकारले बदनियतपूर्ण हिसाबले ३ लाख मात्र रहेको तथ्याङ्क देखाएको छ । पुस्तौंदेखिको चरम गरिबीको चपेटामा रहेका मुसहर समुदाय अहिले पनि ५ % को हाराहारीमा मात्र शिक्षित रहेको तथ्यांकहरुले देखाउँछ ।
मुसहर समुदायको समग्र उत्थानको लागि र उनीहरुलाई शिक्षा हासिल गर्न प्रोत्साहन मिलोस भन्ने अभिप्रायले भोरले यस्तो सम्मान कार्यक्रम २०६९ साल देखि नै गर्दै आईरहेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…