राजर्षि जनक विश्वविद्यालयमा Entrance परीक्षा विवाद चर्किँदा तालाबन्दी
संगठनहरूले तालाबन्दी तत्काल खोल्न आग्रह गर्दै उपकुलपति, रजिस्ट्रार, क्याम्पस प्रमुख, विद्यार्थी संघका प्रतिनिधि र सरोकारवालाहरूबीच सर्वदलीय छलफल बोलाउन विश्वविद्यालय प्रशासनलाई आग्रह गरेका छन् ।

२०८२ मंसिर २१ आइतबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयमा प्रवेश परीक्षा सञ्चालनसम्बन्धी विवाद चर्किएपछि विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मंसिर १५ गतेदेखि निरन्तर जारी विरोधसँगै विश्वविद्यालय परिसर तनावग्रस्त बन्दै गएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रवेश यादवले कुनै सूचना जारी नगरी नयाँ विद्यार्थी भर्ना परीक्षण लिएको आरोप लगाउँदै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए । तर १७ मंसिरमा रजिस्ट्रार प्रा. डा. सत्यनारायण साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्याम्पस प्रमुखले केन्द्रीय कार्यालयको निर्देशनअनुसार रिक्त सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेको स्पष्टिकरण दिएका छन् । उनले लगाइएका आरोपलाई ‘असत्य र तथ्यहीन’ बताएका छन् ।
यो स्पष्टीकरणपछि विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले निर्देशनअनुसार काम गरेको पुष्टि गरेका छन् । विज्ञप्तिमा सभापति यादवले लगाएको व्यक्तिगत मनोमानीको आरोप निराधार रहेको उल्लेख गर्दै विवाद समाधान भावनामा होइन, तथ्य र प्रक्रिया–आधारित छलफलबाट खोजिनुपर्नेमा जोड दिइएको छ ।
संगठनहरूले तालाबन्दी तत्काल खोल्न आग्रह गर्दै उपकुलपति, रजिस्ट्रार, क्याम्पस प्रमुख, विद्यार्थी संघका प्रतिनिधि र सरोकारवालाहरूबीच सर्वदलीय छलफल बोलाउन विश्वविद्यालय प्रशासनलाई आग्रह गरेका छन् ।
‘विद्यार्थीहरूको चासो महत्वपूर्ण छ, प्रशासनको जिम्मेवारी संवैधानिक छ। दुवै पक्ष संयमित भए मात्र शैक्षिक वातावरण सामान्य भइरहन्छ,’ संयुक्त धारणा पत्रमा उल्लेख छ ।
बढ्दो विवादसँगै क्याम्पसमा पढाइ–लेखाइ अवरुद्ध भइरहेका छन् भने विद्यार्थी अभिभावकमा समेत चिन्ता बढेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…