मधेशमा आज चौरचन र तीज मनाईदै, निराहार व्रतमा महिलाहरु
यस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।

२०८२ भदौ १० मंगलबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व र तीज पर्व पनि एकैदिन मनाइने भएको छ ।
मिथिलाञ्चलको प्रसिद्ध पर्व चौरचन पर्व र तीज पर्व पनि यसवर्ष एकै दिन पर्दा मंगलबार धुमधामसाथ मनाइँदैछ । हरेक वर्ष भदौँ शुक्लपक्ष चतुर्थीका दिन चौरचन पर्व मनाइने गरिन्छ । यस क्षेत्रमा छठ पर्व पछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ ।
यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ ।
यस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।
दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् ।
चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…