जनकपुरधाम एयरपोर्टलाई अन्तराष्ट्रियकरण गरी पर्यटन बढाउन सहयोग गर्नुः मन्त्री कुशवाहा
'Visit Madhesh' नामबाट डिजिटल माध्यममार्फत प्रचार-प्रसार अभियान सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण बढाउनुपर्ने प्रस्ताव राख्दै मन्त्री कुशवाहाले मुख्य पर्यटकीय स्थलहरू तथा सीमा प्रवेश विन्दुहरूमा पर्यटक प्रहरी र IP based CCTV प्रणाली जडान गरी सुरक्षा प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो।

२०८२ साउन १४ बुधबार, बेलुकी ७:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, १४ साउन । राष्ट्रिय पर्यटन परिषद्को आज बसेको बैठकमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री माननीय इञ्जिनियर बसन्त कुशवाहाले मधेशको पर्यटन सम्भावना र पूर्वाधारसम्बन्धी विविध बुँदाहरूमा संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
मन्त्री कुशवाहाले मधेश प्रदेशको समृद्ध सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदालाई उपयोग गर्दै पर्यटन प्रवर्द्धनका लागि संघीय तहको स्पष्ट नीति, बजेट र समन्वय आवश्यक रहेको बताउँदै तत्कालका लागि सात बुँदे ध्यानाकर्षण पेश गर्नुभएको हो।
मन्त्री कुशवाहाले जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरी भारतका अयोध्या, लखनउ, बनारस, पटना, दिल्ली लगायत प्रमुख धार्मिक तथा सांस्कृतिक शहरहरूसँग सिधा हवाई सम्पर्क स्थापनाका लागि तत्काल पहल गर्न आग्रह गर्नुभयो। साथै, भैरहवा, पोखरा, नेपालगञ्ज, विराटनगर जस्ता आन्तरिक गन्तव्यहरूसँग पनि हवाई कनेक्टिभिटी आवश्यक रहेको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो।
मधेश प्रदेशमा रहेका आठ प्रमुख नेपाल-भारत नाकाहरूमा पर्यटक सूचना केन्द्र स्थापना गर्दै एकीकृत सुरक्षा प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री कुशवाहाले हाल पर्यटकहरूलाई सुरक्षा निकायबाट हुने दुव्र्यवहारका घटना पर्यटनमैत्री वातावरण निर्माणमा बाधक बनिरहेको बताउनुभयो।
यस्तै, मन्त्री कुशवाहाले जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संघीय सरकारले आवश्यक कूटनीतिक र प्राविधिक पहल अगाडि बढाउनुपर्ने बताउँदै मधेशको सांस्कृतिक वास्तुकलाको संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो।
बैठकमा पर्यटन विकासका लागि संघीय नीति निर्माण, कानुन तथा बजेट व्यवस्थापनमा प्रदेश सरकारको समुचित सहभागिता सुनिश्चित गरिनुपर्ने माग गर्दै मन्त्री कुशवाहाले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयमा आधारित संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
उत्तर प्रदेश र बिहारजस्ता सीमावर्ती भारतीय राज्यहरूसँग धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि द्विपक्षीय सम्झौता (MoU) गरी संयुक्त कार्यक्रम अगाडि बढाउनुपर्ने प्रस्ताव पनि ध्यानाकर्षणपत्रमा समावेश गरिएको छ।
Visit Madhesh अभियान र पर्यटक सुरक्षा
'Visit Madhesh' नामबाट डिजिटल माध्यममार्फत प्रचार-प्रसार अभियान सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण बढाउनुपर्ने प्रस्ताव राख्दै मन्त्री कुशवाहाले मुख्य पर्यटकीय स्थलहरू तथा सीमा प्रवेश विन्दुहरूमा पर्यटक प्रहरी र IP based CCTV प्रणाली जडान गरी सुरक्षा प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा प्रस्तुत यी बुँदाहरूको निरन्तर फॉलोअप हुने मन्त्री कुशवाहाले बताउनुभएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…