पूर्व पश्चिम राजमार्गमा धनुषाको कमलादेखि बाराको पथलैयासम्म ३१ हजार बढी रुख काटिने
रुख कटानको आदेश आए पनि कार्यान्वयन पक्षमा अझै केही ढिलाइ हुने संकेत देखिएको छ। मधेश प्रदेशका वन निर्देशनालय प्रमुख जगन्नाथप्रसाद जयसवालका अनुसार रुखहरूमा टाँचा लगाउने, विवरण अद्यावधिक गर्ने र जिल्लास्तरीय समन्वय प्रक्रिया अझै बाँकी छन्। उनले भने, “विभागीय निर्देशनअनुसार प्रक्रिया अगाडि बढाउनेछौं, आयोजनासँग समन्वय गरेर छिटो कटान कार्य सम्पन्न गर्ने तयारीमा छौं।”

२०८२ असार २९ आइतबार, बिहान ८:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व–पश्चिम लोकमार्गको स्तरोन्नति कार्यमा लामो समयदेखि अवरोध बनेका सडक छेउका रुखहरू हटाउने कार्य अन्ततः औपचारिक रूपमा सुरु भएको छ। धनुषाको कमला देखि बारा जिल्लाको पथलैयासम्म फैलिएको १३० किलोमिटर लामो सडकखण्डमा पर्ने ३१ हजार ५२९ वटा रुख हटाउन वन तथा भू–संरक्षण विभागले अनुमति प्रदान गरेसँगै, निर्माण कार्यमा अपेक्षित तीव्रता आउने आशा गरिएको छ।
वन विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार रुख कटानको आदेश दिएको हो। आदेश प्राप्त भएसँगै गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक स्तरोन्नति आयोजनाले रुख व्यवस्थापन प्रक्रिया अगाडि बढाएको छ। आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार, वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन २०८१ सालमै स्वीकृत भए तापनि, त्यसको कार्यान्वयनका लागि रुख कटानको अनुमति लिन दुई वर्ष लागेको थियो।
विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा सञ्चालित यो आयोजना सन् २०२५ जनवरी १ तारिखदेखि औपचारिक रूपमा तीन स्थान — कमला पुल पश्चिम (धनुषा), बडहरी (सर्लाही), र फूलजोर —बाट एकसाथ सुरु गरिएको थियो। हालको दुई लेन सडकलाई बजार तथा सहरी क्षेत्रभित्र ६ लेन (३१ मिटर चौडाइ) र अन्य क्षेत्रहरूमा ४ लेनसहित ‘मेडियन’ सहितको १८ मिटर चौडा बनाउने लक्ष्य लिइएको छ।
निर्माण कार्यको जिम्मेवारी विभिन्न कम्पनीहरूले लिएका छन्। कमला–बडहरी खण्ड भारतीय कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले निर्माण गरिरहेको छ भने, बडहरी–फूलजोर तथा फूलजोर–बागमती खण्डमा चिनीया कम्पनी SWJE र नेपाली कम्पनी रखुवा कन्स्ट्रक्सनको संयुक्त उपक्रमले काम गरिरहेका छन्। यद्यपि रुख कटान तथा विद्युतीय पोल हटाउने कार्यमा ढिलाइ भएका कारण निर्माण निर्धारित समयअनुसार अगाडि बढ्न सकेको छैन।
आयोजनाले काम सुरु भएको ६ महिना पुगिसकेको छ, तर अहिलेसम्म जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ — जबकि न्यूनतम १५ प्रतिशत प्रगति आवश्यक मानिएको थियो। हालसम्म प्रस्तावित ३४ पुल र १०० कल्भर्टमध्ये १५ पुल र १७ कल्भर्टको मात्रै निर्माण सम्पन्न भएको छ।
आयोजनाका प्रमुख पौडेल भन्छन्, “रुख र पोलको व्यवस्थापन ढिलाइले सिभिल स्ट्रक्चरको कामलाई प्रत्यक्ष असर परेको छ, विशेषतः डाइभर्सनका लागि चाहिने स्थानहरू अवरुद्ध भइरहेका छन्।”
रुख कटानको आदेश आए पनि कार्यान्वयन पक्षमा अझै केही ढिलाइ हुने संकेत देखिएको छ। मधेश प्रदेशका वन निर्देशनालय प्रमुख जगन्नाथप्रसाद जयसवालका अनुसार रुखहरूमा टाँचा लगाउने, विवरण अद्यावधिक गर्ने र जिल्लास्तरीय समन्वय प्रक्रिया अझै बाँकी छन्। उनले भने, “विभागीय निर्देशनअनुसार प्रक्रिया अगाडि बढाउनेछौं, आयोजनासँग समन्वय गरेर छिटो कटान कार्य सम्पन्न गर्ने तयारीमा छौं।”
सडक स्तरोन्नतिको काम समयमै सम्पन्न गर्न निर्माणमा अवरोध बनेका यस्ता संरचनाहरूको व्यवस्थापनमा तिव्रता ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…