भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था गरौँः मुख्यमन्त्री सिँह
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दावी गरे।

२०८१ पुस २ मंगलबार, बिहान ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो सुझाव दिएका हुन्।
उनले भ्रष्टाचार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताए।
उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलासी जीवनशैली जिउन पाउँदा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए। त्यस्ता व्यक्तिमाथि कडा कारबाही गर्न पनि उनले सुझाव दिए।
मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलक वृद्धि गरेर भ्रष्टार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दावी पनि गरे।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दावी गरे।
उक्त कार्यक्रममा मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादव,शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी ,गृह ,संचार तथा कानून मन्त्री राजकुमार लेखी,स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह,अर्थ मन्त्री सुनिलकुमार यादव,उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव,उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषा प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया,जिल्ला समन्वय समिति धनुषाका प्रमुख ,जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहसहित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको सहभागितामा उक्त कार्यकर्ता सम्पन्न भएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…