काठमान्डौँ सिन्धुली बर्दिवासको बिपि राजमार्ग भोलीदेखि सँचालन हुने
काठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।

२०८१ असोज २४ बिहीबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ ।
यही असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभएको छ ।
आज फूलपातीको दिन पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उहाँको भनाइ छ । देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताउनुभयो ।
केही मेसिन भाडामा पनि लिइएको उहाँको भनाइ छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बीपी राजमार्ग निकै महत्त्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिनुभयो । आफू पनि आजसम्म तीन पटक यो सडकको अनुगमनमा गएको शर्माले बताउनुभयो ।
काठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।
अब भोलिदेखि नै सडक खुल्ने भएकाले टीका लगाउन जान सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले जानकारी दिनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…