अत्यधिक गर्मीका कारण सिरहामा ५ बेहोस, महोत्तरीमा एकको मृत्यु
न्यूज ब्यूरो, सिरहा, २७ जेठ । सिरहा सहित तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। पानी नपरेको र तापक्रम दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो। आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहा

२०७५ जेठ २७ आइतबार, बेलुकी ६:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, २७ जेठ । सिरहा सहित तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। पानी नपरेको र तापक्रम दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो। आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना विद्यार्थी बेहोस भएका छन् ।
महोत्तरीमा रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको मृत्यु भएको छ। उनलाई गौशाला प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। उनीसँगै खेत रोप्न गएका ६० वर्षीया सुन्दरदेवी सदा र ३० वर्षीया किसुनदेवी सदाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ।एकै परिवारका ५ जना महिला खेतमा धान रोप्न पुगेका थिए। गर्मीले ३ जना विरामी भएपछि बाँकी २ महिलाले उनीहरुलाई अस्पताल पुर्याएका थिए। आइतबार महोत्तरीकोतापक्रम ४२ डिग्री सम्म पुगेको छ ।
यसै बीच सिरहाको चन्द्र माविमा अध्ययनरत ५ जना विद्यार्थी गर्मीका कारण बेहोस भएका छन्। कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव , राधिकाकुमारी यादव , सोनी यादव लगायतका विद्यार्थी बेहोस भएका हुन्। अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीहरुको सिरहा सदरमुकाम स्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको उक्त विद्यालयले जनाएको छ।
विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहा , सप्तरी , उदयपुर ,धनुषा , सर्लाही , महोत्तरी , पर्सा , सुनसरी लगायतका जिल्लाहरुमा बढ्दै गईरहेको गर्मीका कारण गरिखाने वर्गलाई समस्या भएको छ। तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनाले सर्वसाधारण लाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ। अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। आइतबार लहानको तापक्रम ४१ डिग्रीभन्दा माथि पुगेको छ। वैशाख , जेठमा अत्यधिक गर्मीकै प्रकोप बाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । गर्मी बढ्दा चिसो पेय पदार्थ सँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालय सहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…