निजी विद्यालय खोलेर यादवको ठगी धन्दाः खत्तम पढाई, भद्रगोल होस्टल, शुल्क भने चर्को
विद्यार्थी माग्न आउने बेलामा विद्यार्थीको सर्वांगिन विकासका निम्ति थुप्रा विशेषताका पुलिन्दा देखाएपनि व्यवहारमा थोरै पनि नदेखिएपछि अभिभावकहरू ठगिएको महसुस गर्दैछन् । एक अभिभावकले नाम नबताउने शर्तमा भने, “न व्यवस्थित छ, न पढाई छ, होस्टल पनि खत्तम छ, विद्यालयले विद्यार्थी लिने बेला भनेको केही पनि छैन, विद्यार्थी रुँदैछन्, हामी फस्यौं, ठगियौं ।”

२०८० पुस १९ बिहीबार, बिहान ७:५८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । निजी विद्यालयहरू विद्यार्थी लोभ्याउन र बटुल्न आफ्नो प्रचारप्रसार गर्दा अनेक आकर्षक विशेषता लेखिएका पम्प्लेट देखाउँछन् । त्यसमा विश्वास गरेर अभिभावकले निजी विद्यालयलाई विद्यार्थी पनि दिने गरेका छन् ।
कतिपय विद्यालयले पूर्ण रूपमा नभएपनि त्यसलाई व्यवहारमा लागू गर्ने प्रयत्न पनि गरेको हुन्छ । तर, अधिकांश निजी विद्यालयहरूले भने सरकारी विद्यालयभन्दा पनि जर्जर अवस्था राखेर विद्यार्थी र अभिभावकलाई ठग्दै आएका छन् ।
यस्ता उदाहरण सिरहाको मिर्चैयामा पनि थुप्रै छन्, जहाँ व्यवहारमा नभई मात्र कागजको पम्प्लेटमा विशेषता देखाएर ठगी धन्दा हुँदै आएको छ । त्यसैमध्येको एक हो -मिर्चैया नगरपालिका–६ कटारी चोकमा अवस्थित पूर्वाञ्चल सेन्ट्रल एकेडेमी ।
प्लेग्रुपदेखि कक्षा १० सम्म सञ्चालन गर्दै आएको यो विद्यालयको पम्प्लेटमा एकसेएक आकर्षक विशेषताहरू लेखिएको भएपनि व्यवहारमा भने एकरत्ति लागू गरेको छैन । पम्प्लेटको सुरुमै लेखिएको छ –“दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट पठनपाठन गराइनेछ ।” तर, कामचलाउहरूबाट पठनपाठन भइरहेको विद्यार्थीहरूले बताएका छन् ।
कक्षा कोठाहरू पनि भद्रगोल छन् । कतिपय कोठामा त विद्यार्थीलाई भूइँमै बसाएर कक्षा सञ्चालन गरिँदै आएको छ । होस्टल पनि अस्तव्यस्त छ । खानेकुरा पनि निम्नस्तरको दिने गरेको छ । अहिलेको कठ्यांग्रिदो जाडोमा त विद्यार्थीहरू झन् समस्या झेलिरहेका छन् ।
विद्यार्थी माग्न आउने बेलामा विद्यार्थीको सर्वांगिन विकासका निम्ति थुप्रा विशेषताका पुलिन्दा देखाएपनि व्यवहारमा थोरै पनि नदेखिएपछि अभिभावकहरू ठगिएको महसुस गर्दैछन् । एक अभिभावकले नाम नबताउने शर्तमा भने, “न व्यवस्थित छ, न पढाई छ, होस्टल पनि खत्तम छ, विद्यालयले विद्यार्थी लिने बेला भनेको केही पनि छैन, विद्यार्थी रुँदैछन्, हामी फस्यौं, ठगियौं ।”

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…