जनकपुरः ५० रुपैयाँको नक्कली सिक्रीको लागि साथीलाई छुरा हानेर हत्या !
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरू भारतको बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ ।

२०८० कार्तिक १० शुक्रबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरीस्थित विहिबार युवकको शव फेला परेपछि प्रहरीले सिक्रीको लागि हत्या भएको खुलाएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि बिहीबार आशिक पासवानको हत्या भएको खुलाएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन् ।
बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० रुपैयाँमा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरू भारतको बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ ।
दीपक र अमित दुवै जना पिपरा गापा वडा नम्बर ५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…