सर्लाही चन्द्रनगरको प्रशासकीय भवनको अध्यक्ष महतोले गरे शिलान्यास
भवन शिलान्यास कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष, वडा नं १ देखि ७ सम्मका जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कर्मचारीहरु लगायत स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

२०७९ फागुन २० शनिबार, बिहान ९:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ ।
शुक्रवारका दिन चन्द्रनगर गाउँपालिका वडा नम्बर ५ स्थित नाढीमनमा गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा सम्पुर्ण जनप्रतिनिधिहरुले सामुहिक रुपमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष महतोले चुनावको समयमा जनतासंग गरेको वाचा पुरा गरेको बताए ।
नाढीमन क्षेत्र चन्द्रशमशेर राणाको नामले चिनिने भएको हुदाँ पुरानै मोेडेलमा मौलिक शैलिमा आधुनिक तरिकाबाट गाउँपालिकाको भवन निर्माण हुने उनको भनाई थियो ।
“स्थानिय विकास पुर्वाधार विभाग, काठमाडौंमा पहल गरी ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको छु”– उनले भने । जसमध्ये पुर्वाधार कार्यालयले ६० प्रतिशत रकम उपलब्ध गराएको छ, भने बाँकी स्थानिय सरकारले लगानी गर्नेछ ।
तत्काल गाउँपालिकाले भवन निर्माण कार्य अघि बढाउन १ करोड बजेट विनियोजन गरेको बताउँदै अध्यक्ष महतोले बाँकी बजेट केन्द्रिय सरकार मातहातका कार्यालयबाट ल्याई तिब्र गतिमा निर्माण कार्य अगाडी बढाउने उहाँले प्रतिबद्धता समेत व्यक्त गरे ।
विकास निर्माण कार्यलाई आफुले पहिलो प्राथमिकता दिएको कारण स्थानियवासीले आफुलाई साथ र सहयोग गरे जिल्लामै नमुना गाउँपालिकाको रुपमा विकास गरिने उनले दाबी गरे ।
नाढीमन तालको पुन निर्माणका लागि अतिक्रमित क्षेत्र खाली गर्न र गराउन सबै नागरिकको दायित्व रहेका छन, उनले भने । भवन निर्माणमा सहयोग गर्न व्यपारीहरुलाई आग्रह गर्दै उनले अनाधिकृत रुपमा निर्माण गरेका घर टहरा हटाउन अनुरोध समेत गरे ।
चन्द्रनगर गाउँपालिकामा रहेको जिल्लाको एकमात्र प्राकृतिक ताल नाढीमन क्षेत्र सयौं वर्ष पुरानो धार्मिक, संस्कृतिक तथा ऐतिहासिक बोकेको क्षेत्र रहेको हो ।
चन्द्रनगर गाउँपालिकाको आफनो प्रशासनिक भवन नहुदाँ थप निजि कोठाहरु समेत भाडामा लिएर साँघुरो ठाउँहरुमा प्रशासनिक कार्यहरु संचालन हुदै आएको प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिंगले जानकारी दिए ।
अब भवनको निर्माण कार्य सके लगत्तै आफ्नै भवनमा प्रशासनिक कार्य संचालन गरिने उनले बताए । आफनो सुविधा सम्पन्न भवन निर्माण हुनेभएपछि सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा प्राप्त हुने उनको भनाई थियो ।
भवन शिलान्यास कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष, वडा नं १ देखि ७ सम्मका जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कर्मचारीहरु लगायत स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…