मोदी भ्रमणको मुखममा सुरक्षा कडा, शँकास्पद २४ जना पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, २३ बैशाख । आउँदो २८ गते बैशाखको आगमन हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर जनकपुर सहित आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीको भ्रमणलाई लिएर सुरक्षा टाईट गर्दै शनिबारसम्म मात्र २४ जनालाई पक्राउ गरी सोधपुछको आधारमा अधिकाँशलाई रिहा स

२०७५ बैशाख २३ आइतबार, बिहान ११:२९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २३ बैशाख । आउँदो २८ गते बैशाखको आगमन हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर जनकपुर सहित आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मोदीको भ्रमणलाई लिएर सुरक्षा टाईट गर्दै शनिबारसम्म मात्र २४ जनालाई पक्राउ गरी सोधपुछको आधारमा अधिकाँशलाई रिहा समेत गरिएको छ ।
सवारी चेकजाँच तथा शँका लागेमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिई चित्त नबुझेसम्म अनुसन्धान गरी रिहा गर्ने गरेको छ ।
शंकास्पद र हत्याका फरार अभियुक्तको खोजी अभियान चलाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
‘शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछपछि छाडेका छौँ, केहीलाई अहिले पनि नियन्त्रणमा राखेका छौँ,’ सिंहले भने ।
गत १८ वैशाखमा गृहमन्त्री रामबहादुर थापा जनकपुर आएकै दिन दुईवटा राहदानी बोकेका जीवन साह पक्राउ परेका थिए । जनकपुर कटैयाचौरीका साह अझै प्रहरी नियन्त्रणमा छन् । प्रहरीले हिरासतमा लिएका अन्यको विवरण सार्वजनिक गरेको छैन ।
भारतीय प्रधानमन्त्री मोदी विश्वकै तेस्रो सुरक्षा थ्रेटमा रहेकाले सुरक्षा व्यवस्था मजबुद बनाइएको प्रहरी उपरीक्षक सिंहले बताए । थप शंकास्पदको खोजी भइरहेको उनको भनाइ छ ।
धनुषासँग सीमा जोडिएका महोत्तरी र सिरहाका भारतसँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाएको प्रहरीले जनाएको छ । जनकपुर प्रवेश गर्ने नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले शुक्रबार सुरक्षा अधिकारीसहित जनकपुर उद्योग वाणिज्य संघ तथा स्थानीय विभिन्न संघसंस्थासँग सुरक्षा व्यवस्थाबारे बैठक गरे ।
मोदीलाई नागरिक अभिनन्दन गर्ने स्थानीय बाह्रविघा मैदानमा सुरक्षा व्यवस्था बुझन मन्त्री यादवले शुक्रबार अनुगमन गरेका थिए ।
अभिनन्दन तयारी र सुरक्षा व्यवस्था बुझ्न शुक्रबार नै फरक समयमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पनि पुगेका थिए ।
संघीय सरकार मातहतका चारवटै सुरक्षा निकाय सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । नेपाल र भारत विहार मधुवनी जिल्लाका सुरक्षा अधिकारीबीच गत बिहीबार जनकपुरमा छलफलसमेत भएको थियो ।
त्यस्तै, भारतीय सुरक्षा अधिकारी पनि जनकपुर आइपुगेका छन् । उनीहरूले आफ्ना हिसाबले सुरक्षा विश्लेषण गरिरहेको नेपाल प्रहरीका एक अधिकारीले बताए । भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीसँग समन्वय पनि गरिरहेको उनको भनाइ छ ।
थप सुरक्षाकर्मी जनकपुर आउँदै
मोदी सुरक्षाका लागि प्रदेश २ बाहिरबाट थप सुरक्षाकर्मी जनकपुर आउन थालेका छन् ।
सुरक्षामा करिब सात हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । अहिले नेपाल प्रहरीका हजारभन्दा बढी थप सुरक्षाकर्मी जनकपुर आइसकेका छन् ।
आन्तरिक मामिलामन्त्री यादवका अनुसार करिब चार हजार नेपाल प्रहरी, १२ सयसम्म सशस्त्र र नौ सयसम्म सेना परिचालन हुनेछन् । राष्ट्रिय अनुसन्धानबाट पनि सिभिलमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।
मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण हुने
मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गरिने भएको छ । यसअघि भारतीय पक्षले बाह्रबिघामा अवतरण गर्ने गरी पूर्वाभ्यास गरेको थियो । तर, प्रदेश सरकारको आग्रहमा मोदी भ्रमणका लागि आउने तीनवटै हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गरिने आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
मोदी जनकपुर विमानस्थलबाट पूजापाठका लागि गाडीमा जानकी मन्दिर जानेछन् । मोदी भ्रमणका लागि विमानस्थलदेखि जानकी मन्दिरसम्म र जानकी मन्दिरदेखि बाह्रबिघासम्म दुई घन्टा सडक सिल गरिने मन्त्री यादवले बताए ।
उनले सो सडक खण्डमा भिआइपीबाहेक अन्यलाई निषेध गरिने बताए । मोदीको नागरिक अभिनन्दनमा आउने सर्वसाधारणका लागि वैकल्पिक रुटको व्यवस्था गरिने मन्त्री यादवको भनाइ छ ।
होटेल र लजमा प्रहरी निगरानी
प्रहरीले जनकपुरका होटेल र लजमा निगरानी बढाएको छ । भारतसँगको सीमामा पनि कडाइ गरेको छ । धनुषाको सीमावर्ती चटही, इनर्वा, खौना, देउरी परवहा, महोत्तरीको भिठामोड, सम्ससी कन्हवा, सिसवा कटैयालगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
भारतीय सुरक्षाकर्मीले सीमामा पनि चेकजाँच बढाएका छन् । विस्फोटक पदार्थ छिर्न नदिन कडा चेकजाँज गरी प्रवेश दिइने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । प्रहरीले जनकपुर विमानस्थलमा पनि सुरक्षा निगरानी बढाएको छ । नयाँ पत्रिकाको अनलाईन सँस्करणमा हदिस खुद्दारले
समाचार लेखेका छन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…