सिरहाः उम्मेदवारलाई अपेक्षित भोँट नपरेको भन्दै साथीबाटै युवकको हत्या, दुई जना पक्राउ
हत्या गरी मोटरसाइकल दुर्घटनाजस्तो देखाउन खोजिएको भए पनि स्थानीयको सूचनाको आधारमा प्रहरीले मृतक परिवारबाट जाहेरी परेपछि दुईजनालाई पक्राउ जनाएको छ।

२०७९ मंसिर १३ मंगलबार, बेलुकी ६:५७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका –१ नरगी गाउँका एक युवकको हत्या गरी दुर्घटनाको रुप दिइएको खुलेको छ।
नरगी गाउँका ३२ बर्षिय रामशंकर यादवको हत्या गरी दुर्घटनाको रुप दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शुक्रबार राती करिब ११ बजे रामशंकरको हत्या गरी नरगी कुसण्डी सडकमा फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। सो राती उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै रामशंकरकै साथी सोही गाउँका अन्दाजी ४० बर्षिय दिपेन्द्र यादवले प्रहरीलाई फोन गरेको स्थानीयले बताए।
सो राती मृतकको शव हत्तार हत्तार उठाएर पोष्टमार्टमका लागि लगिएपछि शंका लागेर स्थानीयले मृत्युको कारण खोतल्न थाले। र, रामशंकरको हत्या भएको सुराक पाएपछि आफन्तले अनुसन्धानका लागि प्रहरीलाई जानकारी साझा गरेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा दिपेन्द्र यादव, डम्बर यादव र अजय साहलाई नियन्त्रणमा लिएको छ। उनीहरुबाट रामशंकरको हत्याको सुराक फेला परेको प्रहरी स्रोतले जनायो। हत्याको घटनालाई पचाउन संलग्नहरुले दुर्घटनाको रंग दिन खोजेको थियो।
सिरहा प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीका अनुसार मृतकका आफन्तबाट कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ। सोमबार सोही मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने डिएसपी बुढाथोकीले बताए। शव विस्तृत पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…