Close This

भारतीयलाई नागरिकता बनाइदिनेहरु घर छाडेर फरार

२०७९ श्रावण ९ सोमबार
बेलुकी ६:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने आरोपितहरु घर छाडेर फरार भएका छन् । 

झुठो विवरण पेश गरेर एक जना भारतीय युवतीले नेपाली नागरिकताको प्रमाण पत्र दिएको समाचार सँचारमाध्यमहरुमा आएपछि बनाउनेहरु घर छाडेर फरार भएको हो । 

भारतको कालिङ्गपोङ् घर भएकी २१ वर्षीय रजनी राईले ईलाका प्रशासन कार्यालय सिमरामा झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएकी हुन् । 

बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा उनले साउन १ गते नागरिकता प्रमाण पत्र नम्बर ३३–२–७९–००५१३ नम्बरको नेपाली नागरिकता लिएकी हुन् । 

स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) को छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन वडा कार्यालयले ईलाका प्रशासन कर्यालय सिमरामा जेष्ठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेष्ठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।

वडा कार्यलयकोे सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि ईलाका प्रहरी कार्यालय निजगढमा पत्र पाठाएको भएपनि सो पत्र ईप्रकामा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पाइएको छ । 

प्रहरी चौकीको क्षेत्रमा पर्ने भएकोले उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

ईलाका प्रशासन कार्यालय सिमराका प्रशासकिय अधिकृत मोहन प्रसाद अर्यालले उक्त नागरिकता रद्द गर्न वडा कार्यालयबाट पत्र आएको बताए । नागरिकता रद्दका लागि पत्र आएपछि छानबिन शुरु गरिएको अर्यालको भनाई छ । 

सिफारिस दिने वडाअध्यक्षसँगै नक्कली आमा र बुबा बनेका दुबैजनालाई सोधपुछका लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको अर्यालले बताए । नक्कली बुबा आमा बन्नेहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

रजनीले भने नागरिकता बनाएकै भोलीपल्ट काठमाण्डौ पुगेर राहदानीसमेत बनाएको पाइएको छ ।

वडाअध्यक्ष गोलेले भने नक्कली विवरण र नक्कली आमा बुबा ल्याएर झुक्याएर सिफारिस बनाएको प्रतिक्रिया दिए ।

 गाउँमा हल्ला चल्न थालेपछि मात्रै नागरिकता बनाउने मान्छे भारतीय नागरिक भएको आफूले जानकारी पाएको उनको स्पष्टोक्ति छ । 

राईको बुबा र आमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेशको वडा पार्टी सभापति सोनाम सिं गोलेका भाइ र बुहारी हुन । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus