५ लाख घुससहित रँगेहात पक्राउ परेका मेयर पटेल निलम्बित, धरौटीमा रिहा
पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघि नै छुटिसकेका छन् ।

२०७८ चैत ८ मंगलबार, बिहान ९:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा विशेषमा अदालतमा मुद्धा दर्ता गरेसँगै उनि निलम्बित भएको अख्तियारले जनाएको छ ।
पटेललाई फागुन १५ गते हेटौडाबाट आएको अख्तियारको टोलीले पाँच लाख रुपैयाँ घुससहित रङ्गेहात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानका क्रममा पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।
पटेलले घुस मागेको जानकारी पाएपछि अख्तियारले उनिविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनि आफ्नो एकजना सहयोगसँगै घुसको रकम र चेकसहित पक्राउ परेका थिए ।
अख्तियारले मेयर पटेल र उनका सहयोगी अशोक पटेललाई २ लाख पचास हजार रुपैयाँ नगद र सोही रकम बराबरको एउटा चेक लिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
घुस लिने काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर भएकोले मेयर र उनका सहयोगीलाई ५ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।
यस्तै, घुससहित पक्राउ परेका मेयर पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन सोमबार नै धरौटीमा रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतले सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेललाई रिहा गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएको हुन् ।
मेयर पटेल, सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरी ४ जनालाई फागुन १५ गते हेटौडाबाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र सोही रकम बराबरको चेकसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघि नै छुटिसकेका छन् ।
अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात् अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।
तर मेयर पटेल तथा उनका पक्षधरहरूले उक्त आरोपको खण्डन गर्दै आएका छन् । सोमबार धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म जारी रहने अख्तियारले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…