अब जनकपुरबाट सीधा पोखरासम्म हवाई उडान हुने, हप्तामा यी तीन दिन मात्र
जनकपुरधामका वरिष्ठ होटल व्यवसायी दशरथ साहले यसले दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।

२०७८ फागुन ४ बुधबार, राति ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट अब सीधा पोखरासम्म हवाई उडान हुने भएको छ ।
धार्मिक एवम् पर्यटकीय नगरी भनेर चिनिने जनकपुरधामबाट प्रसिद्ध पर्यटकीय शहर पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ ।
आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिखको मार्च १ देखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने भएको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ ।
निजी क्षेत्रका वायु सेवा बुद्ध एयरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ आजबाट सुरु गरेको बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले जानकारी दिए । अहिले पोखरा जानेहरूले अग्रिम टिकट बुकिङ गर्न सुरु भएको हो ।
सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका स्टेसन म्यानेजर सिंहले जानकारी दिए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधाम र पोखराका लागि उडान हुने भएको छ ।
जनकपुरधाममा आउने पर्यटकहरू अब हवाईमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा गरेर आउन र जान पाउने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरी गएको बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गरेको थियो ।
खास गरेर मधेस प्रदेशको राजधानी, धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधामबाट प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी एवम् गण्डकी प्रदेशका राजधानी पोखराका बीचमा हवाई सेवा सुचारु भएपछि पर्यटकलाई पनि लाभ पुग्ने भएको छ ।
अहिले पोखरा तथा जनकपुर सडक मार्गबाट मात्र जोडिएका छन् ।
जनकपुरधामबाट पोखरा जाने यात्रीले कम्तीमा पनि ८ घण्टाभन्दा बढी समय लगाएर जाने गरेका थिए । खास गरेर जनकपुरधाममा अत्यधिक मात्रामा भारतीय पर्यटकहरू आउने गरेको छन् भने पोखरामा भारतीयसहित अन्य देशका पर्यटकहरू पनि आउने भएका छन् ।
यसैबीच जनकपुरधामबाट पोखराको हवाई सेवा सुरु हुने भएपछि जनकपुरधामका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
जनकपुरधामका वरिष्ठ होटल व्यवसायी दशरथ साहले यसले दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…