यातायात कार्यालय लहानमा यी दलालहरुले बेच्छन लाईसेन्स !
सेवाग्राहीले डिस्काउण्ट माग्दा दलालहरुले बनाउने भए बनाउ नभए जाउ भनेर जवाफ दिने गरेका छन् ।

२०७८ माघ १८ मंगलबार, बिहान ९:२४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्ला लहानस्थित रहेको यातायात कार्यालयमा बाहिर बस्ने केही दलालहरुले लाईसेन्सको खुल्ला बिक्री गरिरहेको पाइएको छ ।
यातायात कार्यालय भित्रका कर्मचारीहरुसँगको सेटिँगमा बाहिर पसलमा बार्गेनिङग गर्ने दलालहरुले चक्के अनुसारको मूल्यसूचि राखेका छन् । उनीहरुले सेवाग्राहीलाई चक्का अनुसारको दाम सुनाउँछन् ।
कर्मचारी, ट्राफिक प्रहरी र दलालको सेटिङमा लाइसेन्स विक्री वितरण हुने गरेको रहस्य सार्वजनिक भएपछि यातायात कार्यालय लहानका कार्यालय प्रमुख मिन भट्टराई काठमान्डौँ भागेको बुझिएको छ ।
यातायातका कर्मचारीसँग विचौलियाहरुले सेटिङ गरेर मोटरसाइकलको लाइसेन्स १५ देखि २० हजार, चारपांग्रे सवारीको लाइसेन्स २५ देखि ३० हजारसम्ममा बनाइदिने गरेका छन् । उनीहरुले चक्का अनुसार लाइसेन्सको मूल्यसूचि (रेडकार्ड) तोकेका छन् ।
सेटिङमा लाइसेन्स बन्ने गरेको लहान यातायात कार्यालय नजिक पुग्नेबित्तिकै दलालहरुहरु काम गराइदिने भन्दै सेवाग्रही नजिक आइपुग्छन् । त्यहाँ आसपास रहेका अधिकांश पसलका सँचालकहरु पनि लाईसेन्सको लागि दलाली गर्ने गरेको खुलेको छ ।
पैसा लिएर लाइसेन्स बनाइदिने आसपासमा पसल थापेर बसेका दलालहरुसँग सेवाग्राहीहरुसँग सीधा बार्गेनिँग गर्ने गरिन्छ । ट्रायलमा फेल हुने वा लिखित समेत दिन नचाहने सेवाग्राहीहरुले दलालसँग सम्पर्क गर्दा उनीहरुले १० देखि ३० हजारसम्म लिएर सीधा हातमा लाईसेन्स दिने गरेको छ ।
यातायात कार्यालय लहानको बाहिर पसल थापेर बस्ने अधिकांश दलालहरुको काम नै सेवाग्राहीलाई प्रभावमा पारेर रकम असुल्ने हो । त्यो रकम उनीहरुले आफू मात्र राख्दैन, यातायात कार्यालयको सहयोगीदेखि कम्प्यूटर अपरेटर हुँदै हाकिमसम्म भाग लगाउने गरेको छ ।
सेवाग्राहीले डिस्काउण्ट माग्दा दलालहरुले बनाउने भए बनाउ नभए जाउ भनेर जवाफ दिने गरेका छन् । उनीहरुले हातमै रेटकार्ड राखेर सेवाग्राहीसँग मोलजोल गर्ने गरिन्छ ।
दलालहरुले आफूहरु त्यहाँ नयाँ नभई ९ वर्ष बढीदेखि गरिरहेको र आफूहरुले पक्का काम गर्दै आएकोले अहिले पनि आफूलाई सयौंले लाइसेन्स बनाउन दिएको भन्दै उनले नाम लेखिएको नामसूचि नै देखाउने गरेका छन् ।
सर्वसाधारणले प्रक्रिया पुर्याएर आफै जाँदा यातायातले लाइसेन्सका लागि वर्षौं झुलाउँछ । तर, उनीहरुले आफूहरुले एक दुई हप्तामै लाइसेन्स हातमा थमाइदिने दावी गर्छन् ।
यातायात कार्यालयले लिने ट्रायलमै यातायातका कर्मचारी, ट्राफिक प्रहरी र विचौलियाबीच सेटिङ छ । विचौलिया मार्फत् जानेलाई पास गरिदिने र बाँकी विभिन्न बहाना बनाएर फेल गरिदिने गरिएको छ ।
त्यति मात्रै होइन, श्रोतले बताए अनुसार ट्रायलमा सय जति पास भए पछि ट्रायलमा फेल भएकाहरुबाट घुस लिएर ३ सय ४ सयसम्मलाई लाइसेन्स दिने गरिएको छ ।
यही जनगुनासोको आधारमा गत असोज २३ गते दुई चक्के सवारी लाइसेन्सका लागि लहानस्थित ग्रामिण चोकमा भइरहेको ट्रायलमा सँचारकर्मीहरुलाई फोटो भिडियो खिच्न निषेध गरेको थियो ।
कार्यालयका फाँटफाँटमा पनि बिचौलियाको पहुँच छ । कर्मचारी आरामले बसिरहेका बेला बिचौलियाले काम आफैं गर्ने गर्छन् । विचौलियाहरुले सबै फाइल मिलाएर दिने र कर्मचारीले हस्ताक्षर गर्ने काम मात्र गर्ने गरेका छन् । यातायतको यो विषय नयाँ होइन । यसबाट कुनै निकाय अनभिज्ञ पनि छैनन् । तर, सबैको मिलेमतोमै यो क्रम जारी रहेको प्रष्ट हुन्छ ।
यस सन्दर्भमा कार्यालय प्रमुख मिन भट्टराईले दलालहरु कार्यालय बाहिर बसी दलाली गरेको बताउँदै दलालको फन्दामा नपर्न सेवाग्राहीलाई आग्रह गरे । उनले दलालसँग सम्पर्क भए आफूलाई जानकारी गराउन वा प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा प्रमुख भट्टराईले दुई जना दलाल पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको बताउँदै तस्विरमा देखिएको अन्य दलालहरुको खोजी गर्न प्रहरीलाई भनेको तथा प्रहरी समेत खोजिरहेको बताए ।
उनले फोटोमा देखिएको अनुहार तथा न्यूज ब्यूरोका पत्रकार विजय साहलाई धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही प्रक्रिया अगाडी बढाउन आदेश गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…