जनकपुरः रुपैयाँ लिएर कोरोना भ्याक्सीन बेच्ने कर्मचारी रँगेहात पक्राउ
साहलाई सघाउने कृष्णा कुमार यादवलाई समेत अख्तियारले नियन्त्रणमा लिएको जनाइएको छ ।

२०७८ मंसिर २७ सोमबार, बेलुकी ५:१७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित कोरोना भ्याक्सीन बेच्ने एक कर्मचारी र एक दलाललाई रँगेहात पक्राउ गरिएको छ ।
सोमबार अपरान्ह करिब ३ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ जिरोमाईलस्थित कोरोनाको भ्याक्सीन रकम लिएर लगाउँदै गर्दा रकम सहित नै अख्तियारले रँगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित रहेको महोत्तरी गाउँपालिका वडा नम्बर २ का स्वास्थ्यचौकी ईन्चार्ज ३१ बर्षिय अजय साह रहेका छन् । साहलाई रुपैयाँ लिएर कोरोना भ्याक्सीन लगाउँदै गर्दा पक्राउ गरेको हो ।
सोमबार उनी तीन वटा कोरोनाको भ्याक्सीन स्वास्थ्यचौकीबाट ल्याएका थिए । विदेश जानुपर्ने बाध्यताको फाईदा उठाउँदै स्वाथ्यकर्मी साहले प्रतिव्यक्ति ७ हजार देखि १० हजार रुपैयाँसम्म लिने गरेका थिए ।
आम सर्वसाधारणहरुको लागि निःशुल्क आउने कोरोनको भ्याक्सीन वडावासीलाई नदिएर जनकपुरमा आएर बेच्ने गरेको गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमान्डौँ टँगालबाट खटेको टोलीले साहलाई २० हजार रुपैयाँ सहित रँगेहात पक्राउ गरेको हो ।
साहले तीनटा भ्याक्सीन वापत २० हजार रुपैयाँ लिसकेको अवस्थामा अख्तियारले उनलाई रँगेहात पक्राउ गरेको हो । साहलाई सघाउने कृष्णा कुमार यादवलाई समेत अख्तियारले नियन्त्रणमा लिएको जनाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…