समयमा तलब नदिएको भन्दै सफाईकर्मीले अफिसमै हाने हाकिमलाई थप्पड
गत विजयादशमीमा समेत सफाई कर्मचारीहरुले आन्दोलन गरेका थिए ।

२०७८ कार्तिक १४ आइतबार, बिहान ११:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समयमा तलब नदिएको भन्दै एक सफाई कर्मचारीले कार्यालयका हाकिमलाई थप्पडले हानेको भिडियो अहिले भाईरल बनेको छ ।
छिमेकी मुलुक भारतको बिहार राज्य समस्तीपुर जिल्लास्थित रोसडा नगर परिषद्मा तलब नपाएपछि आक्रोसित सफाईकर्मी कर्मचारीले कार्यालयका हाकिमलाई थप्पडले हानेका हुन् । यो घटनालाई एक जनाले आफ्नो मोबाईलमा कैद गरेर ईन्टरनेटमा हालेको देखिएको छ ।
यो घटना गत शुक्रबार हो । रोसडा नगर परिषद कार्यालयका कार्यापाल (हाकिम) जयचंद अकेलालाई चेँम्बरमा पसेर सफाईकर्मीले हातपात गरेको हो । सफाईकर्मीले कुराकानी गर्दागर्दै उनलाई थप्पड हानेको बताइएको छ ।
भारतीय सँचारमाध्यमहरुका अनुसार, अचानक भएको सो घटनापछि हाकिमसहित त्यहाँ रहेको सबै कर्मचारी एकक्षणको लागि स्तब्ध भएको थियो ।
केही बेरपछि त्यहाँ बोलाइएको प्रहरीले आन्दोलनरत सफाईकर्मीहरुलाई सम्झाउनमा व्यस्त भएको बताइएको छ । प्रहरीले उनीहरुलाई बाहिर निकालेर समाधानको तरिकाबारे कुराकानी गरेको बताईएको छ ।
गत विजयादशमीमा समेत सफाई कर्मचारीहरुले आन्दोलन गरेका थिए । वार्तापछि आन्दोलन रोकेर हरेक महिना नै कर्मचारीलाई तलब उपलब्ध गराउने सम्झौता भएको थियो । प्रत्येक दिन उनीहरुले कमाएको रकम सोही दिन पनि पाउन सक्ने सम्झौता भएको थियो ।
एक सातापछि पनि सफाईकर्मीहरुले काम वापतको तलब, ज्याला नपाएपछि कामकाज ठप्प बनाएको थियो । दिनभरि नै कार्यालय प्रमुख जयचंद अकेला र अन्य पदाधिकारीहरुले मनाउनको लागि प्रयास गरे ।
तर, विना भुक्तानीको कुनै पनि सफाई कर्मचारीले काम नगर्ने अठोट लिए र कार्यालय प्रमुखसँग कुराकानी गर्नको लागि दुई सफाई कर्मचारी उनको कार्यालयभित्र पसे । सोही क्रममा हाकिमसँग भनाभन हुँदा आक्रोसित भएर एक कर्मचारीले हाकिमलाई थप्पड हानेको बताइएको छ ।
थप्पड हान्ने कर्मचारी रामसेवक रामका अनुसार, विगत ४ महिनादेखि नै ज्याला दिएको छैनन् । चार महिनामा १० हजार रुपैयाँ पेश्की (एडभान्स) स्वरुप दिएको छ । सोही एडभान्सको भरमा हाकिमले यस्तो गर्ने, उस्तो गरिदिने भनेपछि आक्रोसित रामले उनलाई थप्पड हानेको हो ।
यता, सो घटनाको सम्बन्धमा उच्च अधिकारीलाई जानकारी गराइएको बताइएको छ । यता, रोसडाका एसडिओ ब्रजेश कुमारले सो घटनालाई गैर कानुनी बताएका छन् । कुनै पनि समस्याको हल कुराकानीबाट गर्न सकिने बताउँदै यस सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ ।
ज्ञातव्य छ, केही दिन नेपालकै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थि जनमत पार्टीका कार्यकर्ताहरुले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका डिई राजेश कुश्वाहालाई जनकारवाही भन्दै हातपात गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…