खेतमै भिजेको धानलाई यसरी बचाउनुहोस्
खेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने वरिष्ठ वैज्ञानिक सुवेदीले बताउनुभयो ।

२०७८ कार्तिक २ मंगलबार, दिउँसो १२:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हाल तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ ।भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ ।
पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् ।
काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा हुने भएकाले उत्पादन घट्ने र लगानी डुब्ने किसानको चिन्ता छ ।
पानीमा भिजेको धान कुट्दा टुक्राटुक्रा पर्ने र खान नमिल्ने हुन्छ । काटेको धान भिज्दा धानमा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने हुन्छ ।
यसरी क्षति कम गर्न सकिन्छ :
काटेर खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतमै छेउमा ठुलो खाडल बनाएर पानी तर्काउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक सुशील सुवेदीले बताउनुभयो ।
धान ढलेको खेतमा पानी जम्न नदिन निकासको व्यवस्था गर्न सकिन्छ । धानको बालालाई जोगाउन सके पनि धेरै नोक्सानी बेहोर्न नपर्ने उहाँको भनाइ छ । साथै एक÷दुई दिनपछि घाम लागेमा एकरदुई घाम सुकाएर चुट्न पनि वरिष्ठ वैज्ञानिक सुवेदीको सुझाव छ ।
खेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने वरिष्ठ वैज्ञानिक सुवेदीले बताउनुभयो ।
ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्छ । अहिले नै कुन्यु बनाएर राख्दा गन्ध आउने भएकाले ओभानो ठाउँमा फिँजाएर राख्नुपर्नेमा उहाँको जोड छ ।
धान पाकेको अवस्था भए पनि केही दिन नकाट्न पनि वरिष्ठ वैज्ञानिक सुवेदीको सुझाव छ । उहाँका अनुसार पानी रोकिएपछि राम्रोसँग सुकाएर भित्र्याउन सकेमा धानमा हुने क्षति कम गर्न गर्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…