पर्सी महिलाहरुको लागि विदाको घोषणा
आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ।

२०७८ असोज ११ सोमबार, बिहान ८:५१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले पर्सी (बुधबार) विदा ( महिलाहरुको लागि मात्र) दिने निर्णय गरेको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले तराई मधेशमा मनाइने निष्ठाको पर्व जितिया पर्वको अवसरमा महिलाहरुको लागि एक दिने विदाको घोषणा गरेको हो ।
मँगलबार–बुधबार मनाइने मधेशकी महिलाहरुको निष्ठा र आस्थाको व्रत जितिया पर्वको अवसरमा शुभकामना सन्देश समेत दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट प्रदेशको ८ वटै जिल्लामा महिलाहरुको लागि एक दिने विदा दिएको हो ।

जनकपुरसहित प्रदेश २ र थारु समुदायको समेत क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आईतबारदेखि धार्मिक विधिअनुसार जितिया पर्व सुरू भएको छ।
व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन्।
त्यसैगरी भोलि (मँगलबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (बुधबार) बिहान व्रत सम्पन्न गर्नेछन्। व्रतालुहरु नजिकको पोखरी, तलाउ, नदीलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन्। यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।
आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ।
त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरू ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ ।
तराई मधेशमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ। उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ।
त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ। फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ।
यसअघिको समाचारमा भुलवंश मँगलबार पर्न गएकोले भूलसुधार गरिएको छ । विदा पर्सी बुधबार मात्र महिलाहरुको लागि दिइएको व्यहोरा अनुरोध सहित क्षमा प्रार्थी छौँ –सम्पादक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…