सुजिता हत्या प्रकरणमा उनको आफ्नै बुवासहित थप तीन जना पक्राउ
रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ ।

२०७८ साउन १८ सोमबार, दिउँसो ४:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १८ साउन । महोत्तरीकी सुजिता हत्या प्रकरणमा बाबु कामेश्वर पाण्डेयसहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता भएकी थिइन । सो प्रकरण केही जना पहिले नै पक्राउ परेका छन् भने महोत्तरी प्रहरीले यसपटक उनको आफ्नै बुवासहित थप तीन जनालाई पक्राउ गरेको हो ।
सुजिता हत्यामा संलग्नता देखिएपछि सुजिताकै बुवा पाण्डेयलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरेको हो ।
सुजिता ठाकुर हत्यामा उनका बाबु पाण्डेयकोसमेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।
एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’
पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उनले बताए ।
‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’
रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ ।
यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…