स्तर खसाएर 'यादव' बने मन्त्री, मोबाइलको टर्च बालेर खाएर किरिया
कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय लिन सहमत भएपनि विज्ञानप्रबिधि, वातावरण, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा माओवादीले चासो देखाएको छैन् ।

२०७८ जेठ २७ बिहीबार, बिहान ९:१३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्रीको दाबेबारी गर्दै आएका नेपाली काँग्रेसका सँसदीय दलका नेता राम सरोज यादवले बुधबार भौतिक पूर्वाधार मन्त्री पदको किरिया (सपथ) खाएका छन् ।
गत एक सातादेखि नै प्रदेश नम्बर २ को सरकार परिवर्तन भई काँग्रेसको नेतृत्वमा प्रदेश सरकारको गठन हुने चर्चा चलेपनि अन्ततः यादव पनि मुख्यमन्त्री राउतको शरणमा पुगेका हुन् ।
संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागि मन्त्रीहरुले बुधबार राती दश बजे सपथग्रहण गरे । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेपाली काँग्रेसबीच दिउँसो २ बुंदे सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल बिस्तार गरे ।
जसमा रामसरोज यादव गत एक सातादेखि मुख्यमन्त्रीको दाबी गरी मात्र सरकारमा जाने अडानमा बसेपनि अन्तत स्तर खसाएर उनले भौतिक पूर्वाधार मन्त्रीकै किरिया खाएका हुन् । हडबड भएको बेला नव नियुक्त मन्त्रीहरुले भने अँध्यारोमै मोबाइलको टर्च बालेर किरिया खाएका हुन् ।
काँग्रेसबाट दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, ओमप्रकाश शर्मा उर्जा, सिंचाई तथा खानेपानी र वीरेन्द्र प्रसाद सिंह युवा, खेलकुद तथा महिला बालबालिका मन्त्री भएका छन् ।
प्रदेश प्रमुख राजेश झॉअहिराज’ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराए ।उनकै निजी सचिवालय परिसरमा आयोजित सपथग्रहणमा मुख्यमन्त्री राउत,प्रदेश सभामुख सरोजकुमार यादव, मन्त्रीहरु लगायत प्रदेश सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
निर्धारित समय भन्दा झण्डै साढे २ घण्टा ढिला मन्त्रीहरुको सपथग्रहण भएको थियो । मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन गरेको प्रयास मन्त्रालयको बाँडफाँडमा असफल भएपछि काँग्रेसबाट मात्र मन्त्रीको सपथ गराइएको थियो ।
सत्तारुढ जसपामा विवाद भएपछि मुख्यमन्त्री राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झालाई गत आइतवार बर्खास्त गरेका थिए ।
काँग्रेसकै मन्त्रीहरुबीच पनि मन्त्रालयको विषयमा विवाद भएको थियो ।भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री बनेका यादवले राखेको सिंचाईलाई शर्माले माथिल्लो नेताबाट फोन गराएर खोसेका थिए ।
मुख्यमन्त्री राउत निवासमा शर्माले काठमाण्डुबाट दिलाएको दवाव सबैले सुनेका थिए ।शर्माका लागि आएको फोनले नेता यादवपनि चुप लागेका थिए । सरकारको नीति तथा कार्यक्रम शुक्रवार दिउँसो ३ बजे र बजेट असार १ गते मंगलवार प्रदेश सभामा प्रस्तुत हुने कार्यक्रम छ ।
नवनियुक्त मन्त्रीहरुले मैथिली र भोजपुरी भाषामा सपथ लिन चाहेका थिए । तर प्रदेश प्रमुख झाले नेपाली बाहेकको भाषामा सपथग्रहण बिहिवार मात्र हुन सक्ने भनेपछि मन्त्रीहरुले नेपाली भाषामा नै सपथग्रहण गर्न राजी भएका थिए ।
माओवादी केन्द्रबाट दुई जना मन्त्री र एकजना राज्यमन्त्री राख्ने सहमति भएपनि मन्त्रालयको विषयमा कुरा अड्किएको छ ।माओवादीले काँग्रेसको भागमा परेको उर्जा, सिंचाई र खानेपानी मन्त्रालय चाहेका छन् ।
कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय लिन सहमत भएपनि विज्ञानप्रबिधि, वातावरण, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा माओवादीले चासो देखाएको छैन् ।
माओवादीपनि चाँडै सरकारमा सहभागि हुने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जनाए ।उनले मन्त्रीहरु नियुक्त भएपनि राज्यमन्त्रीहरु सहमति अनुसार पछि नियुक्त गरिने बताए ।
मुख्यमन्त्रीमै दाबेदारी गर्दै आएका यादवले मन्त्री मात्र पाएपछि उनको चारैतर्फबाट समाजिक सँजालमा स्तर खसाएर मन्त्री पद खाएको भन्दै आलोचना पनि गरिएको छ । यादवले सधै मिथिलाको चर्चा गर्दै आएपनि नेपाली भाषामा सपथ खाएको भन्दै पनि आलोचना गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…