आउँदो साउन महिनामा परीक्षा हुने
मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ ।

२०७८ जेठ १० सोमबार, बिहान ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिड–१९ का कारण स्थगित गरिएको परीक्षा आउँदो साउनमा लिइने तयारी थालेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षाहरु साउन महिनामा लिइने गरी तयारी थालिएको हो ।
लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।
परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।
हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।
यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ ।
गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले स्पष्ट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…