प्रादेशिक अस्पताल जनकपुरमा जसपा नेताकी श्रीमति र छोरी देखि भाई-भतिजोसम्मलाई नियुक्ती 

डा. अजय साह, डा. लवकुमार साहलाई समाजिक विकास मन्त्रीको विशेष पहलमा नियुक्ती गरिएको बुझिएको छ ।

२०७८ बैशाख २८ मंगलबार
बेलुकी ५:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालमा जनता समाजवादी पार्टीका नेताहरुको परिवारीक सदस्यलाई गैर–कानुनी नियुक्ती दिएको पाइएको छ । 

प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जसपाका नेताका श्रीमति, बुहारी र छोरी देखि लिएर भतिजो सहित आफन्तहरुलाई मात्र पहुँचको आधारमा नियुक्ती गरेको पाइएको छ । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले जनता समाजवादी पार्टीसँग आबद्ध नेताहरुको आफन्त र नेतापत्नी र नेताकी छोरी, नेताकी बुहारीसहित १४ जनालाई बिना प्रतिस्पर्धाकै गैर–कानुनी तवरले नियुक्ति दिएको पाइएको हो ।

डा. यादवले गत बर्षको माघ १२ गते गरेको कर्मचारी नियुक्तीमा परेका चिकित्सकहरुको नामाबलीमा सबै जना जनता समाजवादी पार्टीका नेताका आफन्तहरु रहेका छन् । उनीहरुलाई गत बर्षको माघ १२ गते गरेको नियुक्ती पत्रमा उनीहरुको तलब भत्ता समेत उल्लेख गरिएको डा. यादवद्धारा हस्ताक्षर गरिएको टिप्पणी समेत फेला परेको छ । 

नियुक्ति पाएकामध्ये चारजनाले विगतमा सोही अस्पतालमा करारमा काम गरेको तर बिचमा करार निरन्तर नभएको र नयाँ मेसु आएपछि उनीहरूसहित आफ्ना आफन्त दुईजना, एकजना नेताकी श्रीमती र एकजना नेताकी छोरीसमेत गरी १४ जनालाई विभिन्न पदमा नियुक्त गरेको प्रमाण फेला परेको हो । 

उनीहरुलाई करारमा राख्ने सम्बन्धि सूचना नै ननिकालि अर्थात बिना प्रतिस्पर्धा नियुक्त गरिएको अस्पतालको उच्च स्रोतले  जानकारी दिएको छ । अस्पतालमा मेसु डा यादवले उनका भाइ डा. कामेन्द्र यादव (मेडिकल अधिकृत आठौँ, पेडियाट्रिक) र भान्जा सोहनकुमार यादव (एनेस्थेटिक, सहायक पाँचौं) लाई नियुक्ति दिएको टिप्पणी–आदेश पत्रमा उल्लेख छ । 

यस्तै, तत्कालीन समाजवादी नेपाल पार्टीका जिल्ला अध्यक्ष हुँदै प्रदेश सचिव र हाल जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यसमेत रहेका शेषनारायण यादवकी पत्नी प्रेमा ढकाल (स्टाफ नर्स पाँचौं) र जसपा नेता डा. रामस्वार्थ रायकी छोरी डा. सुनिता राय (मेडिकल अधिकृत आठौँ, गाइनो) लाई नियुक्ति दिइएको छ ।

शेषनारायण यादव यसअघि तत्कालिन फोरमबाट जिल्ला अध्यक्ष थिए भने एक पटक तत्कालिन मधेशी जनअधिकार फोरमबाट चुनाव हारेका थिए । डा. राय निरन्तर उपेन्द्र यादवको पार्टीसँग आवद्ध रहेका छन् । उनकी छोरी डा. सुनिता रायलाई समेत नियुक्ती दिएको हो भने शेषनारायणकी श्रीमति प्रेमा ढकाललाई पनि सोही आधारमा नियुक्ती दिएको हो । 

निमित्त मेसु डा यादवले गएको माघ १२ गते रमीनकुमार साह (मेडिकल अधिकृत आठौँ, एनेस्थेसिया), डा अजयकुमार साह, डा सुनिता राय (मेडिकल अधिकृत आठौँ, गाईनो), डा लवकुमार साह (मेडिकल अधिकृत आठौँ, पेडियाट्रिक), डा ज्ञानेन्द्र ठाकुर र दिपेन्द्रकुमार यादव (रेडियोग्राफर, पाँचौं) लाई नियुक्ति दिएका हुन् । त्यसैगरि विभिन्न मितिमा नियुक्तिपत्र दिइएको छ ।

डा. अजय साह, डा. लवकुमार साहलाई समाजिक विकास मन्त्रीको विशेष पहलमा नियुक्ती गरिएको बुझिएको छ । पार्टीगत कोटा छुटयाएरै आसेपासेलाई नियुक्ती दिएको बुझिएको छ । 

यसअघि केही वर्ष करारमा काम गरेकाको बिचमा करार नवीकरण भएको थिएन । नयाँ मेसुका रुपमा आएका डा यादवले उनीहरूसहित आफ्ना र नेताका आफन्तलाई बिनाप्रतिस्पर्धा नियुक्त गरेका हुन् ।

नियुक्तिपत्रमा ‘‘यसै अस्पतालमा भोलेन्टिर रुपमा कार्यरतलाई करार सेवामा नियुक्त गरेको‘’ भन्ने व्यहोरा उल्लेख गरिएपनि उनीहरूमध्ये ११ जना केही समयअघि कार्यरत रही बिचमा निरन्तरता नपाएकाहरू रहेको र तीनजना यसअघि कार्यरत नै नरहेको अस्पतालको गोप्य श्रोतले जानकारी दिएका छन् । 

२०७७ मंसिर २० मा प्रादेशिक अस्पतालका निमित्त मेसुको जिम्मेवारी पाएका डा. यादवले त्यसको महिना दिन नबित्दै माघ १२ देखि २० सम्म १४ जनालाई बिनाप्रतिस्पर्धा नियुक्ति दिएका हुन् ।


नियुक्ती गरिएकाहरु स्वयँसेवक हुन, उनीहरु तलब लिदैननः मेसू डा. यादव 

मेसु डा. यादवले भने १४ जनाले नै स्वयंसेवकका रुपमा कामकाज गर्दै आइरहेको दाबी गरेका छन् । नियुक्त गरिएका चिकित्सकलगायत सबैले स्वयंसेवकको रुपमा निःशुल्क कामकाज गरिरहेको उनको दाबी छ ।

तर, नियुक्तिपत्र करारको दिइएको र त्यहाँ तलब उल्लेख गरिएकोबारे राखेको जिज्ञासामा उनले नियुक्ति पत्रमा जेजस्तो व्यहोरा उल्लेख भएपनि उनीहरुलाई तलब सुविधा नदिएको दाबी गरे । 

उनले भने, ‘म मेसु भएर आएपछि कसैलाई पनि तलब सुविधा भुक्तानी हुनेगरी नियुक्ति दिएको छैन ।’ तर नियुक्तिपत्रमा उनकै हस्ताक्षर र छाप छ । अस्पताल स्रोतका अनुसार स्वयंसेवकका रुपमा डाक्टर वा कर्मचारी राख्दा नियुक्तिपत्र दिने चलन छैन । उनीहरुलाई मौखिक सहमतिकै आधारमा काममा लगाउने गरिएको छ ।

नियुक्ति पाएका चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूको नियुक्ति पत्रमा चालु आव २०७७/०७८ मा संघीय सरकारबाट सामाजिक विकास मन्त्रालय प्रदेश २ जनकपुरधाममार्फत् यस अस्पतालका लागि विभिन्न वडामा विशेषज्ञ सेवा सञ्चालनका लागि सशर्त अनुदानतर्फ ब.उ.शि.नं. ३५०००१२० अन्तर्गत ब.ख.शि.नं. २२४१३, ब.उ.शि.नं. ३५००८०५० अन्तर्गत ब.ख.शि.नं. २.७.२२.३७९, बउ.शि.नं. ३५०००१२० अन्तर्गत ब.ख.शि.नं. २२५२९ बाट तलब सुविधा उपलब्ध गराउने भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

यसबाट प्रादेशिक अस्पतालले संघीय सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक अस्पतालमा विशेष सेवा सञ्चालनका लागि करार सेवामा सशर्त अनुदानबाट तलव खुवाउने गरी नियुक्ति दिएको स्पष्ट हुन्छ ।

यसरी, प्रदान गरिएको नियुक्ती अनुसार डा. यादवले आफ्ना नातागोता, जसपा पार्टीका नेताहरुका श्रीमति, छोरी देखि लिएर भाई–भतिजोसम्मलाई नियुक्ती दिएको प्रष्ट भएको छ । 


मकालु खवर र पत्रकार राम एकवाल महराको सहयोगमा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

प्रदेश २ः प्रहरी डिएसपी भाटको मधेशी उपर रँगभेदी सोँच र दादागिरीले ईलाकामा त्रास !

  • २०७८ बैशाख २८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित एक डिएसपीले आफ्नो इलाकामा त्रास मच्चाएको आरोप लगाइएको छ ।  सर्लाही जिल्लाको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम ईन्चार्ज डिएसपी

पूरा पढ्नुहोस्

Bureau Menus