बेपत्ता झा दम्पतीको खोजी अब CIB ले थाल्यो
झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ ।

२०७७ चैत ५ बिहीबार, बिहान १०:१८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो .सिआइबी) ले थालेको छ ।
गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो ।
यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख सहकुल थापाले बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको पुष्टि गरेको । ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको थापाको भनाइ छ ।
झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ । फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ ।
बेपत्ता वृद्ध दम्पतीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी भइरहेको जनाए पनि पत्ता लाग्न नसकेपछि यहाँ सिआइबी टोली खटाइनुपर्ने माग बढेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…