आज विजयादशमी : बिहान १०:२६ बजे टीकाको उत्तम साइत, पश्चिम फर्केर टीका लगाउनुपर्ने
विजयादशमीले पारिवारिक भेटघाट, आपसी सद्भाव, मेलमिलाप र आशीर्वाद आदानप्रदानको अवसर प्रदान गर्ने भएकाले नेपाली समाजमा यस पर्वको विशेष सांस्कृतिक तथा धार्मिक महत्व रहँदै आएको छ ।

२०८३ कार्तिक ४ बुधबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज बडादशैँ अर्थात् विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरी देशभर विजयादशमी मनाइँदै छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनको हातबाट टीका, जमरा लगाएर आशीर्वाद लिने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको छ । समितिले टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने जनाएको छ ।
समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने भए पनि साइतअनुसार टीका ग्रहण गर्न चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय उपयुक्त छ । घटस्थापनाका दिन स्थापना गरिएको कलशमा आह्वान गरिएका देवीहरूको विसर्जनका लागि आज बिहान ८ बजेर ४९ मिनेटको साइत निर्धारण गरिएको छ ।
विशेषगरी रातो टीकालाई शुभताको प्रतीक र जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । घटस्थापनाका दिनदेखि दशैँघर तथा पूजा कोठामा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म पूजा–आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गर्ने धार्मिक परम्परा छ ।
देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ । तर, नेपालका केही समुदाय तथा स्थानमा कुल र परम्पराअनुसार विजयादशमीका दिन मात्र टीका र जमरा लगाउने गरिन्छ । केही जाति तथा समुदायमा दही र अक्षता मिसाएर बनाइएको सेतो टीका लगाउने परम्परासमेत रहेको छ ।
विजयादशमीले पारिवारिक भेटघाट, आपसी सद्भाव, मेलमिलाप र आशीर्वाद आदानप्रदानको अवसर प्रदान गर्ने भएकाले नेपाली समाजमा यस पर्वको विशेष सांस्कृतिक तथा धार्मिक महत्व रहँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…